गृहमन्त्री खाण र चिनियाँ राजदूत यान्छीबीच शिष्टाचार भेटवार्ता
काठमाडौं, साउन २१ : गृहमन्त्री बालकृष्ण खाण र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच शिष्टाचार भेटवार्ता भएकाे छ। आज (शुक्रबार) बिहान गृह मन्त्रालयमा भएको...
काठमाडौं, साउन २0 : गृहमन्त्री बालकृष्ण खाण र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच शिष्टाचार भेटवार्ता भएकाे छ।
आज (शुक्रबार) बिहान गृह मन्त्रालयमा भएको भेटमा दुई देशबीचको आपसी सम्बन्ध थप सुदृढ बनाउने विषयमा छलफल भएको बताइएको छ।
उक्त भेटमा गृहमन्त्री खाणले नेपाल असंलग्न परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्तमा अडिग रहेको स्पष्ट पारे। उनले नेपाल ‘एक चीन नीति’प्रति पनि नेपाल सदैव प्रतिबद्ध रहेको बताए।
‘नेपाल एक चीन नीतिको पक्षमा छ,’ उनले भने, ‘नेपालमा छिमेकी राष्ट्रविरुद्ध कुनै गतिविधि हुन नदिन नेपाल प्रतिबद्ध छौं।’
भेटमा राजदूत यान्छीले नेपालमा हुने विपद्को व्यवस्थापनमा चीन सहयोग गर्न तयार रहेको बताएकी छन्।
नेपाल सरकारले बिहीबार मात्रै प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन घोषणा गरेकोमा चीनले खुसी व्यक्त गरेको उनले बताइन्। जनमतबाट आउने नयाँ सरकारसँग चीन सहकार्य गर्न तयार रहेको उनको भनाइ थियो।
उनले यसै वर्ष चिनियाँ कम्युनिस्ट पार्टीको अधिवेशन हुन लागेको जानकारी गृहमन्त्री खाणलाई गराइन्।











