६३ प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान
काठमाडौं, साउन २१ : नवनियुक्त प्राविधिक प्रहरी निरीक्षक ६ जना गरी ६३ प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरिएकाे छ।प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले नेपाल...
काठमाडौं, साउन २१ : नवनियुक्त प्राविधिक प्रहरी निरीक्षक ६ जना गरी ६३ प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरिएकाे छ।
प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले नेपाल प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित एक समारोहबीच उनीहरूलाई दर्ज्यानी चिन्हले सुशोभन गरेका हुन्।
साेही अवसरमा नेपाल सरकार सचिवस्तरको विभिन्न मितिको निर्णयले प्रशासन तथा प्राविधिकतर्फका विभिन्न पदमा पदोन्नति भएका ५७ प्रहरी अधिकृतलाई पनि दर्ज्यानी चिह्रन दिइएकाे थियाे।
दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनेहरूमा प्रशासनतर्फका प्रहरी नायब उपरीक्षक ३३ जना, प्राविधिकतर्फका प्रहरी नायब उपरीक्षक ९ जना र प्राविधिकतर्फका प्रहरी निरीक्षक २१ जना रहको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएकाे छ।
समारोहमा प्रहरी महानिरीक्षक सिंहले पदोन्नति भएका प्रहरी अधिकृतहरूलाई बधाई तथा सक्षम र सबल जनशक्ति नेपाल प्रहरीमा ल्याउन प्रेरित गर्ने अभिभावकप्रति कृतज्ञता ज्ञापन गर्दै पदोन्नतिसँगै बढेको जिम्मेवारीलाई प्रहरी अधिकृतहरूले आआफ्नो योग्यताअनुसारको विशिष्टिकृत विधाहरूमा उत्कृष्ट काम गर्न निर्देशन दिए।
सबै प्रहरी कर्मचारीहरूले संगठनको मूल उद्देश्यमा केन्द्रित भई संगठनको श्रीवृद्धिमा व्यावसायिक निष्ठाका साथ अनुशासित एवं मर्यादित ढङ्गले काम गर्नुपर्नेमा उनले जोड दिए।
समारोहमा पदोन्नति भएका अधिकृतहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै प्रहरी नायब उपरीक्षक होम बहादुर थापाले प्रविधिको विकाससँगै अपराधमा देखिएका फरक शैलीले आगामी दिनहरू अझ चुनौतीपूर्ण हुने बताउँदै व्यावसायिक निष्ठा, ईमानदारिता, अनुशासित र कर्तव्य निष्ठ भई त्यस्ता जटिल परिस्थितीको सामना गरी संगठनको गरिमा उच्च राख्न कटिबद्ध भई लाग्ने प्रतिवद्धता व्यक्त गरे।
समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायब महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, प्रहरी अधिकृत एवं जवानहरूको समेत उपस्थिति रहेको थियो।











