सुनसहित पक्राउ परेका खनियावासका बेगबहादुरको घरबाट पेस्तोल र गोली बरामद
काठमाडौं, साउन १९ : उत्तरी धादिङको खनियावास गाउँपालिका–४ का गुण्डा नाइके बेगे भनिने बेगबहादुर तामाङको घरबाट प्रहरीले पेस्तोल र गोली बरामद गरेको छ ।...
काठमाडौं, साउन १९ : उत्तरी धादिङको खनियावास गाउँपालिका–४ का गुण्डा नाइके बेगे भनिने बेगबहादुर तामाङको घरबाट प्रहरीले पेस्तोल र गोली बरामद गरेको छ । मंगलबार सुन र अमेरिकी डलरसहित पक्राउ परेका बेगबहादुरको घरमा प्रहरीले खानतलास गर्दा पेस्तोल भेटिएको हो।
बुधबार धादिङको लपाङफेदीबाट सदरमुकाम धादिङवेशी आउँदै गरेको ग१ज ६७५३ नम्बरको गाडीमा चेकजाँच गर्दा प्रहरीले बेगबहादुर र शोभा तामाङलाई बिस्कुट आकारको सुन र अमेरिकी डलरसहित पक्राउ गरेको थियो।
जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार नीलकण्ठ नगरपालिका–३ थोपलखोला सडकबाट पक्राउ परेका उनीहरुको साथबाट सुनजस्तो देखिने पहेँलो धातुसँगै ५० दरका ९७ थान र १०० दरका १६३ थान अमेरिकी डलर बरामद गरेको हो ।
प्रारम्भिक अनुसन्धानमा बेगबहादुर शंकास्पद देखिएपछि प्रहरीले उनको घरमा छापा मारेको थियो । घर खानतलासी गर्दा त्यहाँबाट पाँच थान बिस्कुट आकारको सुन, २ थान सेमि अटोमेटिक पेस्तोल, सो पेस्तोलमा लाग्ने २० राउन्ड गोली र १ थान कटुवा पेस्तोल भेटिएको प्रहरीले जानकारी दिएको छ ।
उनीहरुमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ।











