Kathmandu Press

सप्तकोसीमा पानीको बहावमा उतारचढाव

सप्तकोसीमा पानीको बहावमा उतारचढाव

इनरुवा, साउन १९ : सप्तकोसी नदीमा पानीको बहावमा उतारचढाव हुने क्रम जारी छ । गए राति कोसी ब्यारेज भएर प्रति सेकेन्ड दुई लाख ४२ हजार नौ सय ६५ क्युसेकका दरले पानीको बहाव रहेको थियो। 

आज बिहान ६ बजे दुई लाख २९ हजार तीन सय पाँच क्युसेक प्रतिसेकेन्ड पानीको बहाव रहेको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए। यसैगरी आज बिहान ८ बजेको मापनअनुसार दुई लाख २८ हजार २५ क्युसेक प्रतिसेकेन्ड पानीको बहाव रहेको छ।

कोसी ब्यारेजका ५६ मध्ये अहिले ४१ ढोका खोलिएका छन् । कोसी नदी ओभरफ्लो भई उदयपुरको बेलाका नगरपालिका डुम्रीबोटेको बस्तीतर्फ गएको भए पनि कोसी ब्यारेजबाट पानीको बहाबमा भने उतारचढाव हुने क्रम जारी रहेको प्रजिअ यादवले बताए। 

सप्तकोसीमा पानीको बहावमा भइरहेको उतारचढावका कारणले श्रीलङका टापु, सप्तरीको गोवरगढा, उदयपुरको बेलका नगरपालिकाको डुम्रीबोट र लाखखोचको उत्तरतर्फ जमिन कटान थालेको प्रजिअ यादवले जानकारी दिए। कटान गरेको क्षेत्रका स्थानीयवासीलाई सुरक्षित स्थानमा लैजान उद्धार टोली तयारी अवस्थामा छ।

स्थानीयवासीलाई तयारी अवस्थामा बस्नका लागि समेत सूचना जारी गरिएको प्रजिअ यादवले बताए। कोसीबाट कुनै किसिमको मानवीय क्षति तथा अन्य क्षति हुन नदिनका लागि स्थानीय प्रशासनले अपनाउनुपर्ने सबै सावधानीका उपाय अवलम्बन गरिएको उनले बताए। 

प्रकाशित मिति: १०:४४ बजे, बिहीबार, साउन १९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्