कोशीमा पानीको बहाव घट्यो, स्थानीयको उद्धार गरिँदै
उदयपुर, साउन १९ : कोशी नदीमा पानीको सतह केही कम भएसँगै बाढी पीडितलाई उद्धार गर्न सजिलो भएको छ।पश्चिमी तटबन्ध भत्किएर कोशी नदीको बाढी...
उदयपुर, साउन १९ : कोशी नदीमा पानीको सतह केही कम भएसँगै बाढी पीडितलाई उद्धार गर्न सजिलो भएको छ।
पश्चिमी तटबन्ध भत्किएर कोशी नदीको बाढी मंगलबार बिहान उदयपुरको बेलका नगरपालिका क्षेत्रमा प्रवेश गरेको थियो। जसले गर्दा बेलकाका एक हजार पाँच सय परिवार प्रभावित भएका थिए।
बाढीको जोखिममा रहेका परिवारलाई मंगलबार बिहानैदेखि सुरक्षित स्थानमा सार्न थालिएको थियो। केही परिवारलाई सुरक्षित स्थानमा सारिएको छ भने केहीलाई सार्ने काम जारी रहेको उदयपुरका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले बताए।
उनका अनुसार हिजोको तुलनामा आज पानीको सहत घटेको छ। जसले गर्दा केही राहत महसुस भएको उनले बताए।
बेलका नगरपालिकाको डुम्रीकोटमा तटबन्ध कटान हुन थालेपछि नगरपालिकाले स्थानीय बासिन्दालाई घर छाड्न आग्रह गरेको थियो। पहिले नै सूचना जारी गरेकाले मानवीय क्षतिबाट जोगिएको उनले बताए।
त्यस्तै, घरमा क्षति नपुगेको भए पनि घरभित्रका सरसामान र अन्नबाली क्षति भएको छ। कतिपय परिवारले सरसामान पनि सँगै लिएका छन् भने केहीको घरमा रहँदा क्षति पुगेको छ।
नगरपालिकाका अनुसार वडा नं. ९ धौरीमा पाँच सय घरपरिवार, वडा नं. ८ को एकता, चिलिया, दुर्गा मन्दिर टोलमा पाँच सय घरपरिवार, वडा नं. ३ बुधबारे, शुक्रबारेमा पाँच सय घरपरिवार, वडा नं. ३ बानडाँडा, रामनगर, नारायणपुरमा, शिवालयमन्दिर, लालभित्त, भागलपुरमा आठ सय घरधुरीका लागि आश्रयस्थल बनाउने निर्णय भएको छ।
केही परिवारलाई सुरक्षित स्थानमा सारिसकिएको छ भने केहीलाई सार्ने काम भइरहेको प्रमुख जिल्ला अधिकारी यादवले बताए।











