'बेटी पढाऊ, बेटी बचाऊ' कार्यक्रममा १० करोड ३३ लाख भ्रष्टाचार, ८ जनाविरुद्ध मुद्दा दायर
काठमाडाैं, साउन १८ : मधेश प्रदेश सरकारले सञ्चालन गरेको 'बेटी पढाऊ, बेटी बचाऊ' कार्यक्रममा भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विषेश...
काठमाडाैं, साउन १८ : मधेश प्रदेश सरकारले सञ्चालन गरेको 'बेटी पढाऊ, बेटी बचाऊ' कार्यक्रममा भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विषेश अदालतमा मुद्दा दायर गरेकाे छ।
बुधबार अख्तियारले तत्कालिन प्रदेश सचिवसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हाे।
अख्तियारले तत्कालिन प्रदेश सचिव यामप्रसाद भूसाल, सिनियर डिभिजनल इन्जिनियर भगवान झा, सह लेखापाल राजाराम मण्डल, जिन्सी शाखाका शाखा अधिकृत रामस्वार्थ महतो, भण्डार शाखाका खरिदार जित मोहनकुमार दासविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। त्यस्तै ओमसत्य साई प्रालि वीरगञ्जकी म्यानेजिङ डिरेक्टर रेनु अग्रवाल, बोलपत्र मूल्यांकन समितिका अध्यक्ष दिलिपकुमार प्रधान र सदस्य सचिव सुरेन्द्रकुमार कर्णविरुद्ध पनि विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएकाे छ।
अख्तियारले मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका तत्कालिन प्रदेश सचिव भूसालले गुणस्तरहीन लेडिज साइकलको आपूर्ति स्वीकार गरी भुक्तानीसमेत गरेर प्रदेश सरकारलाई १० करोड ३३ लाख ७५८ रुपैयाँ हानी नोक्शानी पुर्याएको दावी गरेको छ।
अख्तियारले प्रदेश सचिव भूसाल, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका सिनियर डिभिजनल इन्जिनियर भगवान झा, सह लेखापाल राजाराम मण्डल र साइकल आपूर्ति गर्ने कम्पनी ओम सत्य साई प्रालिकी म्यानेजिङ डिरेक्टर रेनु अग्रवालसँग १० करोड ३३ लाख ७५८ रुपैयाँ विगो माग दावी गरिएको छ।











