अमेरिकाले ‘एक चीन नीति’को गम्भीर उल्लघंन गरेको यान्छीको टिप्पणी
काठमाडौं, साउन १८ : काठमाडौंस्थित नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले अमेरिकी संसद्की सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणलाई लिएर अमेरिकाले ‘एक चीन’ नीतिको...
काठमाडौं, साउन १८ : काठमाडौंस्थित नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले अमेरिकी संसद्की सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणलाई लिएर अमेरिकाले ‘एक चीन’ नीतिको गम्भीर उल्लंघन गरेको टिप्पणी गरेकी छन्।
बुधबार एक प्रेस नोट जारी गर्दै राजदूत यान्छीले उक्त धारणा सार्वजनिक गरेकी हुन्। ‘अमेरिकी संसद्की सभामुख न्यान्सी पेलोसीले चीनको ताइवान क्षेत्रको भ्रमण गरेकी छन्। यो एक चीन सिद्धान्तको गम्भीर उल्लघंन हो। यो भ्रमणले चीनको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डतामा गम्भीर असर गर्दछ,’ राजदूत यान्छीले भनिन्,‘यसले ताइवान क्षेत्रको शान्ति र स्थिरतालाई गम्भीर रूपमा कमजोर बनाउँछ।
चीन यस कार्यको दृढतापूर्वक विरोध र कडा निन्दा गर्दछ।’ राजदूत यान्छीले संसारमा एउटा मात्र चीन रहेको र ताइवान चीनको अविभाज्य भाग रहेको उल्लेख गरेकी छन्। राजदूत यान्छीले सभामुख पेलोसीको ताइवान भ्रमण एक राजनीतिक उत्तेजना रहेको बताएकी छन्। यसलाई चीनियाँ जनताले पूर्णरुपमा अस्विकार गर्ने पनि आफ्नो विज्ञप्तिमा उल्लेख गरेकी छन्।
राजदूत यान्छिले नेपालले एक चीन नीतिको समर्थन र ताइवान स्वतन्त्रताको विरोध गरेकोले नेपालको प्रशंसा गरेकी छन्। उनले नेपाल एक असल र भरपर्दो मित्र रहेकोले सार्वभौमसत्ता, सुरक्षा र क्षेत्रीय अखण्डताको रक्षा गर्न चीनसँग मिलेर काम गर्नेमा विश्वस्त रहेको उल्लेख गरेकी छन्।











