विपद्का क्षेत्रको पहिचान गरी तयारी अवस्थामा रहन महानिरीक्षक सिंहको निर्देशन
काठमाडाैं, साउन १८ : प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले विपद्का जोखिमयुक्त क्षेत्रको पहिचान गरेर आवश्यक स्रोतसाधनसहित पूर्व तयारी अवस्थामा रहन मातहतका निकायलाई निर्देशन दिएका...
काठमाडाैं, साउन १८ : प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले विपद्का जोखिमयुक्त क्षेत्रको पहिचान गरेर आवश्यक स्रोतसाधनसहित पूर्व तयारी अवस्थामा रहन मातहतका निकायलाई निर्देशन दिएका छन्।
काठमाडौं उपत्यका विशेष सुरक्षा प्रहरी गण त्रिपुरेश्वरको हाताभित्र निर्माण भएको प्रहरी भवनको आज शुभारम्भ गर्दै अविरल वर्षाका कारण उत्पन्न डुबान, बाढी, पहिरो लगायतका सम्भावित विपद् क्षेत्रको पहिचान गरी तयारी अवस्थामा रहन निर्देशन गरेका हुन्।
'अपराध अनुसन्धान, शान्तिसुरक्षा व्यवस्थापनलगायत विपद् उद्धार कार्यमा प्रहरीले सदैव अग्रपङ्क्तिमा रहेर कार्यसम्पादन गर्दै आएको छ। कतिपय अवस्थामा संयम र धैर्य गुमाएर गरिएको निर्णयले मानवीय क्षति हुन गई प्रहरी आलोचित बन्नुपरेको दृष्टान्त छन्, यसकारण परिस्थितिअनुसार आवेग र उत्तेजनालाई नियन्त्रण गरी विवेकपूर्ण निर्णयबाट गरिने कानुनसम्मत प्रहरी कारवाही तर्कसंगत हुने हुँदा हामी सबैले यी विषयतर्फ ध्यान दिन जरूरी छ,' उनले भने।
काठमाडौँ जिल्लाका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले समसामयिक परिस्थिति अनुसार कार्यसम्पादन गर्नका लागि प्रहरी कर्मचारीको क्षमता अभिवृद्धि गर्दै जानुपर्ने बताए।
उनले उपत्यकामा हुने विभिन्न आपाराधिक गतिविधि नियन्त्रणमा काठमाडौँ उपत्यका विशेष सुरक्षा प्रहरी गणले प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे।
काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक रवीन्द्रबहादुर धानुकले नवनिर्मित भवनले गणमा कार्यरत प्रहरी कर्मचारीलाई थप हौसला प्राप्त हुनुको साथै कार्यसम्पादनमा अझ बढी उत्कृष्टता आउने विश्वास व्यक्त गरे।
उक्त भवन रु २२ करोड ९० लाख ७१ हजार १९२ लागतमा निर्माण सम्पन्न भएको काठमाडौँ उपत्यका विशेष सुरक्षा प्रहरी गण त्रिपुरेश्वरका प्रमुख प्रहरी उपरीक्षक सानुराम भट्टराईले जानकारी दिए।











