तटबन्धन भत्काएर सप्तकोशीको भंगालो बस्तीमा पस्यो, स्थानीयले गाउँ छाडे
उदयपुरका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवका अनुसार बुधबार बिहान करिब ४ बजेतिर सप्तकोसी नदीको बाँध फुटेर पुरानै धारमा फर्किएको हो।
काठमाडौं, साउन १८ : लगातारको वर्षासँगै आएको बाढीले उदयपुरको बेलका नगरपालिका–८ लाहुरे खोच डुम्रीबोटेमा सप्तकोसी नदीको बाँध फुटेको छ। बाँध फुटेपछि सप्तकोशी नदी बस्तीमा पसेको छ ।
उदयपुरका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवका अनुसार बुधबार बिहान करिब ४ बजेतिर सप्तकोसी नदीको बाँध फुटेर पुरानै धारमा फर्किएको हो।
यो सँगै बेलका नगरपालिका– १, २, ३, ८, ९ तथा सुनसरीको बराहक्षेत्र नगरपालिका–६ र सप्तरीको केही क्षेत्र डुबानमा परेको छ । पानीको बहाव बढेर कटान सुरु गरेपछि त्यहाँका नागरिकलाई स्थानान्तरण, राहत र उद्धारको तत्काल व्यवस्थापन गर्न गृहमन्त्री बालकृष्ण खाणले सम्बन्धित सबै निकायलाई निर्देशन दिएका छन्।
बस्तीमा बाढी पसेपछि प्रभावितले पशुधन, लत्ताकपडा बोकेर गाउँ छोडेको तस्वीर सामाजिक सञ्जालमा देखिन्छ। उनीहरूले सुरक्षित स्थान खोज्दै गाउँ छोडे पनि कहाँ बस्ने भन्ने टुंगो लागि सकेको छैन् ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार अहिले नदीले ५० मिटर बाँध कटान गरी बस्तीमा पसिसकेको छ । त्यस क्षेत्रका नागरिकलाई उद्धार गरी सुरक्षित स्थानमा सार्ने काम भइरहेको छ ।
अहिले प्रभावित क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, जिल्ला प्रशासन कार्यालय, नगरपालिका र स्थानीय स्वयमसेवको टोलीले प्रभावितको उद्धार गरिरहेको छ ।
वेलकामा मात्रै २० हजार बढी नागरिक विस्थापित हुने मेयर कार्कीको भनाइ छ । प्रभावितहरूका लागि अस्थायी निवासको खोजी कार्य भइरहेको छ।











