Kathmandu Press

सप्तकोशीमा बाढी, डुम्रीबोटबाट भेल गाउँ पस्दा डुबान

उदयपुर, साउन १८ : अविरल वर्षासँगै सप्तकोशी नदीमा बाढी आएको छ। उदयपुरको बेलका नगरपालिका– ८ लाहुरे खोच डुम्रीबोटबाट बाँध भत्किएर बाढी गाउँमा पसेको...
सप्तकोशीमा बाढी, डुम्रीबोटबाट भेल गाउँ पस्दा डुबान

उदयपुर, साउन १८ : अविरल वर्षासँगै सप्तकोशी नदीमा बाढी आएको छ। उदयपुरको बेलका नगरपालिका– ८ लाहुरे खोच डुम्रीबोटबाट बाँध भत्किएर बाढी गाउँमा पसेको छ।

आज बिहान ४ बजेतिर सप्तकोशी नदीको बाँध भत्किएर डुम्रीबोटबाट बाढी गाउँमा पसेको प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले बताए। उनका अनुसार बाढी आएपछि बेलका नगरपालिका– २, ३, ८, ९ र बराहक्षेत्र नगरपालिका– ६ डुबानमा परेका छन्।

दुई दिनदेखि नै नगरपालिकाले बस्ती छाड्न माईकिङ गरेकाले मानवीय क्षति नहुने आशा गरिएको प्रजिअ यादवको भनाइ छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दा उद्धारमा खटिएको उनले बताए।

बाँध भत्किएको ठाउँमा स्थलगत अवलोकनका लागि गइरहेको बेलका नगरपालिका मेयर अशोक कार्कीले बताए। कोशीमा आएको बाढी ओभरफ्लो भएर गाउँमा पसेको मेयर कार्कीले जानकारी दिए। बाढी आएपछि कोशी ब्यारेजका ढोका खोल्न आग्रह गरिएको उनले बताए।

बाढी गाउँमा पस्दा एक दर्जन परिवार जोखिममा परेका छन्। बाढीले कटान गरिरहेकाले कयौं बासिन्दा जोखिममा पर्ने देखिएको उनको भनाइ छ।

 

प्रकाशित मिति: ०९:०३ बजे, बुधबार, साउन १८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्