शपथसम्बन्धी विधेयकमा विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत
काठमाडौं, साउन १७ : प्रतिनिधिसभाको आजको बैठले राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त ‘शपथसम्बन्धी विधेयक, २०७९मा विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत गरेको छ ।बैठकमा प्रधानमन्त्री शेरबहादुर...
काठमाडौं, साउन १७ : प्रतिनिधिसभाको आजको बैठले राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त ‘शपथसम्बन्धी विधेयक, २०७९मा विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत गरेको छ ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीलेन्द्रप्रसाद बडूले प्रस्तुत गरेको उक्त प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको हो। विधेयकको सैद्धान्तिक पक्षमा भएको छलफलमा सांसद डा भीमबहादुर रावल, दिब्यमणि राजभण्डारी, प्रेम सुवाल, छक्कबहादुर लामा, गजेन्द्र महत, खेमप्रसाद लोहनीले आ–आफ्ना धारणा व्यक्त गरेका थिए।
छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उद्योगमन्त्री बडूले सार्वजनिक पद धारणा गरेका व्यक्तिको शपथमा कानुनी शून्यता हुन नदिन शपथसम्बन्धी छुट्टै कानुन आवश्यक भएकाले विधेयक ल्याइएको बताए। छलफलमा सांसदहरुले विधेयक चाँडो पारित गर्न र विधेयकलाई समृद्ध बनाउन दिएका सुझावप्रति उहाँले आभार प्रकट गरे।
उद्योगमन्त्री बडूले शपथको भाषा र व्यहोरा आदिबारे विधेयकले स्पष्ट व्यवस्था गरेकाले यसलाई छिटो पारित गर्ने प्रक्रियामा सहयोग गर्न अनुरोध गरे। राष्ट्रपति, उपराष्ट्रपति, सङ्घीय संसद्का सदस्य, प्रदेश संसद्का सदस्य, प्रदेश प्रमुखलगायतले आफ्नो जिम्मेवारी सम्हाल्नुअघि संविधानअनुरुप पद तथा गोपनियताको शपथ लिनुपर्ने विधेयकमा व्यवस्था छ।
,
त्यसैगरी बैठकमा राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त “स्टाण्डर्ड नाप र तौल (पाँचौँ संशोधन) विधेयक, २०७८ मा विचार गरियोस्’ भन्ने प्रस्ताव पनि प्रस्तुत गरिएको छ। उद्योगमन्त्री बडूले प्रस्तुत गर्नुभएको उक्त प्रस्ताव उपर बैठकमा सैद्धान्तिक छलफल भइरहेको छ।











