किसानलाई छिटो मल उपलब्ध गराउन सांसद संग्रौलाको माग
काठमाडौं, साउन १७ : नेपाली कांग्रेसका डा डिला सङग्रौलाले किसानलाई छिटो मल उपलब्ध गराउन माग गरेकी छन् । मंगलबारको प्रतिनिधि सभा बैठकको विशेष समयमा...
काठमाडौं, साउन १७ : नेपाली कांग्रेसका डा डिला सङग्रौलाले किसानलाई छिटो मल उपलब्ध गराउन माग गरेकी छन् । मंगलबारको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद संग्रौलाले भनिन्, ‘अहिलेसम्म पनि किसानले मल पाउन सकेका छैनन्, कतिपय ठाउँमा कालोबजारी छ, सरकारले मल पाउने आश्वासन मात्रै दिँदै आएको छ, किसानले भोग्नु परेको समस्या समाधानको लागि ध्यानकर्षण गराउन चाहन्छु।’
भारतसँगको जिटुजी सम्झौताको प्रक्रियाको अन्योलका नाममा हालसम्म मल आपूर्ति नभएकामा उनले चिन्ता व्यक्त गरिन्। सार्वजनिक खरिद ऐनले गरेको व्यवस्थाअनुसार सम्झौता भएको ३० दिनपछि मात्रै आपूर्ति सुरु गर्ने व्यवस्था भएकाले यसलाई परिवर्तन गरेर अन्तर्राष्ट्रिय व्यवस्थाअनुसार आठ दिनमा आपूर्ति सुरु गर्ने व्यवस्था गरेमा समयमा मल ल्याउन सकिने सरकारी अधिकारीको भनाइ छ।
सांसद संग्रौलाले प्रश्न गरिन्, ‘यदि त्यसो हो भने संसद् चलिरहेको छ, सार्वजनिक खरिद ऐन संशोधन गर्न के ले रोकेको छ ? के नयाँ चुनाव भएपछि मात्रै संशोधन गर्ने हो ? कि, अरु कुनै कारण छ, जवाफ चाहियो। मलको अभावमा देशभित्रै प्राङ्गारिक मल उत्पादन गर्ने हाम्रो योजना खोइ ? रासायनिक मल उत्पादन गर्ने कारखाना खोल्ने हो भने त्यसको योजना खै ?’
गतवर्ष सप्तरीका किसानले रासायनिक मलका लागि आन्दोलन गरेका थिए । गत असारमा धादिङका किसानले दुई ट्रक रासायनिक मल सडकमै खोसेका थिए । गत साता मात्रै सरकारले भारत सरकारसँग पाँच वर्षका लागि करिब नौ लाख मेट्रिकटन रासायनिक मल खरिद गर्ने सम्झौता गरेको थियो ।











