Kathmandu Press

बाढी पहिरो प्रभावितको उद्दार र राहतमा जुट्न गृहमन्त्रीको निर्देशन 

काठमाडौं, साउन १७ : गृहमन्त्री बालकृष्ण खाणले देशभर विभिन्न स्थानमा गएको बाढी पहिरोले पुर्याएको क्षतिबारे जानकारी लिई उद्दार र राहतमा जुट्न मातहतका निकायलाई निर्देशन...
बाढी पहिरो प्रभावितको उद्दार र राहतमा जुट्न गृहमन्त्रीको निर्देशन 

काठमाडौं, साउन १७ : गृहमन्त्री बालकृष्ण खाणले देशभर विभिन्न स्थानमा गएको बाढी पहिरोले पुर्याएको क्षतिबारे जानकारी लिई उद्दार र राहतमा जुट्न मातहतका निकायलाई निर्देशन दिएका छन्। 

उनले नेपाल प्रहरीका गण्डकी प्रदेश प्रमुख प्रहरी नायब महानिरीक्षक रामदत्त जोशी, म्याग्दीका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी राना, चितवनका प्रमुख जिल्ला अधिकारी आशमान तामाङ, म्याग्दीका प्रहरी प्रमुख तिलक भारतीलगायतलाई टेलिफोन गरी म्याग्दीको मालिका गाउँपालिका–२ रुममा गएको पहिरो, चितवनको भरतपुर महानगरपालिका–२९ केराबारीमा गएको पहिरोले पुर्‍याएको सडक अवरोध र चितवनकै इच्छाकामना गाउँपालिकामा गएको पहिरोबाट भएको क्षतिबारे जानकारी लिँदै उद्दार र राहतमा जुट्न निर्देशन दिएका हुन्। 

उनले विपद् व्यवस्थापनमा समस्या परेमा मन्त्रालयमा खबर गर्नसमेत निर्देशन दिए । गएराति म्याग्दीको मालिका गाउँपालिका–२ मा माथिबाट झरेको पहिरोले घर पुर्दा सात जना बेपत्ता भएकामा दुई जनाको उद्धार गरिएको, दुई जनाको शव फेला परेको जनाइएको छ।अन्य व्यक्ति बेपत्ता छन् ।

म्याग्दीका प्रमुख जिल्ला अधिकारी रानाले घाइतेको उद्धार र बेपत्ता भएकाको खोजी जारी रहेको बताए ।

यता नारायणगढ मुग्लिङ सडकखण्डअन्तर्गत भरतपुर महानगर–२९ केराबारीमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।अहिले नारायणगढतर्फबाट जुगेडीमा सवारीसाधन रोकिएको र पहिरोका कारण फसेकालाई सरकारी गाडीबाट चितवनसम्म लैजाने कार्य भइरहेको प्रजिअ तामाङले बताए ।

प्रकाशित मिति: १४:२२ बजे, मंगलबार, साउन १७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्