सरकारी शिक्षक कागती खेतीमा रमाउँदै...
तुलसीपुर, साउन १७ : दिनभर विद्यालयमा व्यस्त हुने मीनबहादुर केसी साँझ–बिहान र बिदाको समयमा भने सधैँजसो बारीमै व्यस्त छन्। दिनभरको विद्यालयको थकान मेट्ने एउटा माध्यम...
तुलसीपुर, साउन १७ : दिनभर विद्यालयमा व्यस्त हुने मीनबहादुर केसी साँझ–बिहान र बिदाको समयमा भने सधैँजसो बारीमै व्यस्त छन्।
दिनभरको विद्यालयको थकान मेट्ने एउटा माध्यम उनको बारी बन्ने गरेको छ । शान्तिनगर गाउँपालिका–४ गिधनिया निवासी उनले आफ्नो छ कठ्ठा जग्गामा कागती र केराखेती गरेका छन्।
शान्तिनगर गाउँपालिका–३ स्थित आधारभूत विद्यालय केराघारी लामो समयदेखि प्रधानाध्यापकको भूमिकामा रहनुभएका शिक्षक केसीले आफ्नो बारीमा कागती र केराखेती गरेका छन्। ‘दिनभर स्कुलमा व्यस्त हुन्छु, दिनभरको थकान मेट्न बारीमा व्यस्त हुने गरेको छु,’ उनले भने। उनले अहिले ६कठ्ठामा कागती खेती गरेको भए पनि केही समयपछि ११ कठ्ठामा खेती गर्ने लक्ष्य राखेका छन्।
खेती गरेको एक वर्षको भएकाले तत्काल आम्दानी लिन नसकेको भए पनि केही समयपछि मनग्य आम्दानी गर्ने उनको धोको छ। ‘तत्कालन आम्दानी लिन सकिएको छैन,’ उनले भने, ‘केही समयपछि मनग्य आम्दानी हुन्छ भन्ने अपेक्षा गरेको छु।’
दिनमा दुई घण्टा हिँडेर विद्यालय पुग्ने शिक्षक केसी अबको दुई वर्षपछि अवकाश लिँदै छन् । लामो समय एउटै विद्यालयमा पढाउँदै आएका उनले अवकाश पछि पूर्णरूपमा व्यावसायिक कृषिखेती गर्ने धोको राखेका छन् । ‘म विसं २०४५ देखि शिक्षण पेशामा छु, लामो समय केराघारी स्कुलमा पढाउँदै आएको छु”, उहाँले भन्नुभयो, “ अवकाशपछि व्यावसायिक कृषिखेती गर्ने सोच बनाएकोे छु।’
आफू शिक्षक पनि भएकाले आफूले समाजमा कृषि खेतीबाट मनग्य आम्दानी गरेपछि आफ्ना छिमेकीलाई पनि त्यो खेतीतर्फ प्रोत्साहन गर्ने योजना छ । उनले आफू त्यस क्षेत्रको उदाहरणीय किसान बनेर मनग्य आम्दानी गर्ने र त्यसबाट अरूलाई पनि आकर्षित गराउने योजना रहेको उनले बताए।
पहिलेदेखि नै कृषि खेतीप्रति चासो रहे पनि शिक्षण पेशाले गर्दा त्यस्तो समय मिलाउन नसके पनि पछिल्लो समय भने समय निकालेर व्यावसायिक खेती गर्ने गरेको उनको भनाइ छ।











