‘शैक्षिक गुणस्तर अभिवृद्धिमा जोड’

काठमाडौं, साउन १६ : पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले दक्ष जनशक्ति उत्पादनका लागि शैक्षिक गुणस्तर अभिवृद्धि हुनुपर्नेमा जोड दिउका छन् ।
पोखरा महानगरपालिका–१६, बाटुलेचौरस्थित विन्ध्यवासिनी माविको हीरक जयन्तीअन्तर्गत पुरस्कार वितरण, सम्मान तथा बिदाइ कार्यक्रमको उद्घाटन समारोहमा उनले राज्यको ठूलो लगानी शिक्षा क्षेत्रमा रहेकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि सम्बद्ध सबैको सामूहिक प्रयास आवश्यक हुने बताए ।
दक्ष जनशक्ति विदेशिने क्रम जारी रहेकाले त्यसलाई रोक्न राज्यले शिक्षा क्षेत्रमा सुधार सँगसँगै प्राविधिक ज्ञान, सीप र रोजगारीका अवसर सिर्जना गर्नुपर्नेमा उनले जोड दिए । विन्ध्यवासिनी मावि नेपालकै उत्कृष्ट विद्यालयमा पर्न सफल भएकोमा खुसी व्यक्त गर्दै उहाँले यसले समग्र पोखरा र गण्डकी प्रदेशकै इज्जत बढाएको भन्दै प्रशंसा गरे ।
पोखरा–१६ का वडाध्यक्ष अमृत शर्मा तिमिल्सिनाले विद्यालयले भोगेका समस्याप्रति आफू जानकार रहेको बताउँदै समस्या समाधानका लागि सक्दो सहयोग गर्ने विश्वास व्यक्त गरे । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रा थापाले सबै पक्षको सहकार्यबाट विद्यालय उत्कृष्ट बन्न पुगेको बताउँदै विद्यालयमा प्राविधिक शिक्षा स्थापना, स्कुल बस तथा स्वास्थ्यसँग सम्बन्धित कर्मचारीको व्यवस्थाका लागि स्थानीय सरकारसँग आग्रह गरे ।
उक्त अवसरमा अक्षयकोषदाता दुर्गा केसी थापा, मेहरमान थापा, भीमबहादुर थापा, प्रकाश अधिकारी, रमेश अधिकारी, एसइईका सर्वोत्कृष्ट विद्यार्थी सिन्धु लम्साललगायतलाई सम्मान गरिएको थियो ।
साथै अनिवार्य अवकास लिएका विद्यालयका सहायक प्रधानाध्यापक जीवनाथ शर्मा पौडेल, शिक्षिका सीता बस्नेत र लेखापाल जीवनारायण श्रेष्ठ ‘जीवन’ लाई सम्मानसहित बिदाइ गरिएको थियो ।
विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद आचार्यले विद्यालयले यस शैक्षिक सत्रमा प्राप्त गरेको उपलब्धि तथा आगामी योजनाका बारेमा जानकारी गराए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष थापा, लेखापाल भीमबहादुर गायक, सहायक प्रधानाध्यापक भेषराज पौडेल, निमावि तह इन्चार्ज महेन्द्रप्रसाद पौडेललगायतले विद्यालयका विभिन्न गतिविधिबारे प्रकाश पारेका थिए ।











