महँगी, भ्रष्टाचार र सरकारको कामको विरोधमा एमालेले गर्याे प्रदर्शन
काठमाडाैं, साउन १६ : प्रमुख प्रतिपक्षी नेकपा एमालेले महँगी, भ्रष्टाचार र सरकारको कामको विरोधमा प्रदर्शन गरेको छ।जनसरोकारका विषयमा राज्यलाई जवाफदेही खबरदारीका लागि भन्दै एमालेले...
काठमाडाैं, साउन १६ : प्रमुख प्रतिपक्षी नेकपा एमालेले महँगी, भ्रष्टाचार र सरकारको कामको विरोधमा प्रदर्शन गरेको छ।
जनसरोकारका विषयमा राज्यलाई जवाफदेही खबरदारीका लागि भन्दै एमालेले आज (सोमबार) काठमाडौंमा विरोध प्रदर्शन गरेको हो।
काठमाडौंको वसन्तपुरदेखि सुरु भएको बिरोध प्रदर्शनसहितको र्याली शान्तिबाटीकामा पुगेर कोणसभामा परिणत भएको थियो। प्रदर्शनमा पार्टीका काठमाडौं उपत्यकाका भूगोलका तीनवटै जिल्ला कमिटी, उपत्यका विशेष प्रदेश कमिटी र जनवर्गीय संगठनहरुलगायतको सहभागतिा थियो।
आम नागरिक महँगीको चौतर्फी मारमा पर्दा पनि वर्तमान परमादेशी गठबन्धन सरकारले मूल्यवृद्धि नियन्त्रणमा कुनै पहल नगरेकाले सरकारलाई खबरदारी गर्न प्रदर्शन गरिएको र यो शुभारम्भ मात्र भएको एमालेका नेताहरुले जनाएका छन्।
वर्तमान गठबन्धन सरकारका कारण भ्रष्टाचार र कमिसनतन्त्र मौलाएको र अर्थतन्त्र सङ्कटग्रस्त बन्दै गएको आरोप उनीहरुले लगाएका छन्।
एमाले नेता लालबाबु पण्डितले महँगी, भ्रष्टाचार र सरकारका गलत कामको विरोध संसदका साथै सडकबाट पनि संयुक्त रुपमा गरिने जिकिर गरे।
त्यस्तै एमाले नेता शेरबहादुर तामाङले सरकारलाई संसदबाटै सच्चाउन कोसिस गरे पनि सरकारले नसुनेका कारण सडकबाट पनि ध्यानाकर्षण गराउन खोजिएको बताए।
एमालेले असन्तुलित र राष्ट्रहित विपरीतको नागरिकता विधेयक संसदीय प्रक्रिया मिचेर संसदबाट पारित गरेको आरोप पनि लगाएको छ। काठमाडौंबाट सुरु भएको सडक प्रदर्शनलाई देशव्यापी बनाउने एमाले नेताहरुले जनाएका छन्।











