काभ्रेस्थली घटना : दुई सातापछि बेलायत उड्ने तयारीमा थिइन् दिनेशकी पत्नी सुनिता
बेलायत उड्ने भएपछि सुनिताले आइतबार मात्र माछापोखरीस्थित मेगाड्रिम सहकारीमा रहेको आफ्नो खाताबाट रकम झिकेर खाता बन्द गराएकी थिइन्।
काठमाडौं, साउन १६ : काठमाडौंको तारकेश्वर नगरपालिका–२ स्थित काभ्रेस्थलीमा एकै परिवारका चारजना मृत भेटिएको घटनाबारे प्रहरी अनुसन्धान भइरहेको छ।
प्रारम्भिक अनुसन्धानमा गोरखा भीमसेन थापा गाउँपालिका–६ आश्राङ घर भई हाल काभ्रेस्थली बस्दै आएका ४१ वर्षीय दिनेश पाण्डेले पत्नीसहित छोराछोरीको हत्या गरेर आफूले आत्महत्या गरेको आशंका गरिएको छ।
आज (सोमबार) बिहान दिनेशको शव एउटा कोठामा झुन्डिएको अवस्थामा र उनकी पत्नी ३९ वर्षीया सुनिता काप्री पाण्डे, ८ वर्षीय छोरा आशिक र १३ वर्षीया छोरी आशिकाको शव अर्को कोठामा भुइँमा भेटिएको थियो।
प्रहरीका अनुसार दिनेश १२ वर्षजति वैदेशिक रोजगारीका लागि कुवेत बसेका थिए। करिब साढे ४ वर्षअघि नेपाल फर्किएका उनले काभ्रेस्थलीमा इलेक्ट्रिक पसलमा काम गर्थे। सुनिता भने कस्मेटिक पसल चलाउँथिन्। केही समयअघि सो पसल बिक्री गरिएको थियो।
छिमेकीहरुका अनुसार दिनेश र उनी पत्नी सुनीताबीच झगडा भइरहन्थ्यो। उनीहरूबीचको झगडा तीनपटक त प्रहरी प्रहरी वृत्त बालाजु पुगेर मेलमिलाप गरिएको थियो।
दिनेशकी पत्नी सुनिता बेलायत जाने तयारीमा थिइन्। उनको बेलायतका लागि ६ महिनाको सिजनल भिसा पनि लागिसकेको खुल्न आएको छ। उनी दुई सातापछि बेलायत उड्ने तयारीमा थिइन्। त्यसका लागि उनले आइतबार मात्र माछापोखरीस्थित मेगाड्रिम सहकारीमा रहेको आफ्नो खाताबाट रकम झिकेर खाता बन्द गराएकी थिइन्।
पारिवारिक झगडाकै कारण दिनेशले पत्नी र छोराछोरीको हत्या गरेर आत्महत्या गरेको आशंका अनुसन्धानमा संलग्न अधिकृतहरुले गरेका छन्। घटनास्थलमा चार पृष्ठ लामो ‘सुसाइड नोट’समेत भेटिएको छ। त्यो सुसाइड नोट दिनेशको रहेको जनाइएको छ। त्यसमा के लेखिएको छ भन्ने विषयमा प्रहरीले केही खुलाएको छैन।











