काभ्रेस्थली घटना : घरभित्र भेटियाे चार पृष्ठकाे ‘सुसाइड नोट’
घटनास्थलमा चार पृष्ठको ‘सुसाइड नोट’ भेटिएको जानकारी प्रहरी दिए पनि त्यसमा के लेखिएको छ भन्नेचाहिँ खुलाइएको छैन।
काठमाडौं, साउन १६ : काठमाडौंको तारकेश्वर नगरपालिका–२ स्थित काभ्रेस्थलीमा एकै परिवारका चारजना मृत भेटिएको घटनाबारे प्रहरी अनुसन्धान भइरहेको छ। त्यसक्रममा घटना भएको घरमा ‘सुसाइड नोट’ भेटिएको छ।
घटनास्थलमा चार पृष्ठको ‘सुसाइड नोट’ भेटिएको जानकारी प्रहरी दिए पनि त्यसमा के लेखिएको छ भन्नेचाहिँ खुलाइएको छैन। दिनेश झुन्डिएकै कोठाबाट सुसाइड नोट भेटिएको महानगरीय प्रहरी परिसरका एक अधिकारीले जानकारी दिए।
प्रारम्भिक अनुसन्धानमा गोरखा भीमसेन थापा गाउँपालिका–६ आश्राङ घर भई हाल काभ्रेस्थली बस्दै आएका ४१ वर्षीय दिनेश पाण्डेले पत्नीसहित छोराछोरीको हत्या गरेर आफूले आत्महत्या गरेको आशंका गरिएका बेला ‘सुसाइड नोट’ भेटिएको हो।
घरभित्र धारिलो चक्कु भेटिएको पनि प्रहरीले जानकारी दिएको छ। आज (सोमबार) बिहान प्रहरीले घरको ढोका फोडेर घरभित्र पसेर हेर्दा दिनेशको शव एउटा कोठामा झुन्डिएको अवस्थामा र उनकी पत्नी ३९ वर्षीया सुनिता काप्री पाण्डे, ८ वर्षीय छोरा आशिक र १३ वर्षीया छोरी आशिकाको शव अर्को कोठामा भुइँमा भेटिएको थियो।
प्रहरीका अनुसार दिनेश १२ वर्षजति वैदेशिक रोजगारीका लागि कुवेत बसेका थिए। करिब साढे ४ वर्षअघि नेपाल फर्किएका उनले काभ्रेस्थलीमा इलेक्ट्रिक पसलमा काम गर्थे। सुनिता भने कस्मेटिक पसल चलाउँथिन्। केही समयअघि सो पसल बिक्री गरिएको थियो।
छिमेकीहरुका अनुसार दिनेश र उनी पत्नी सुनीताबीच झगडा भइरहन्थ्याे। उनीहरूबीचको झगडा तीनपटक त प्रहरी प्रहरी वृत्त बालाजु पुगेर मेलमिलाप गरिएको थियो।
दिनेशकी पत्नी सुनिता बेलायत जाने तयारीमा थिइन्। उनको बेलायतका लागि सिजनल भिसा पनि लागिसकेको खुल्न आएको छ।











