फर्जी मतदाता छानबिनकाे माग राखेर कांग्रेस कार्यकर्ताद्वारा प्रदर्शन

काठमाडौं, साउन १६ : काठमाडौंको बुढानीलकण्ठ नगरपालिकामा बसाइसराइको नक्कली कागजातका आधारमा मतदाता नामावलीमा नाम समावेश गरेको भन्दै निष्पक्ष छानबिनका लागि कांग्रेसले जिल्ला निर्वाचन कार्यालय काठमाडौंमा प्रदर्शन गरेको छ।
२०७४ देखि २०७९ साल सम्मको निर्वाचनमा बूढानीलकण्ठ नगरपालिकामा ३ हजार भन्दा बढी फर्जी मतदाताहरुले मतदान गरेको पुष्टि भएको प्रमाणसहित निर्वाचन आयोगमा बुझाएको र छानबिनलाई प्रभावकारी बनाउन भन्दै उनीहरुले प्रदर्शन गरेका हुन्।
आगामी निर्वाचनमा फर्जि मतदाताको नाम हटाउनुपर्ने र किर्ते काममा सहभागीलाई कारवाहीका लागि ध्यानाकर्षण गर्न प्रदर्शन गरिएको कांग्रेस काठमाडौं क्षेत्र नम्बर ४ का क्षेत्रीय सचिव बद्री भट्टराईले बताए।
उनले नगरपालिकाभित्र सरकारी छापको दुरुपयोग गरिएको , कार्यालय सचिवको हस्ताक्षर प्रयोग भएकाले फौजदारी संहिताअनुसार कारवाही गर्नुपर्ने आफूहरुको माग रहेको बताए।
उनले आफूहरुको माग सुनुवाइ नभएसम्म प्रदर्शन जारी राख्ने बताए। यसअघि बूढानीलकण्ठ नगरपालिकामा बसाइसराइको नक्कली कागजातका आधारमा मतदाता नामावलीमा नाम समावेश गरेको भन्दै कांग्रेस काठमाडौं क्षेत्र नम्बर ४ ले निर्वाचन आयोगमा उजुरी दिएको थियो।











