थारु बस्तीमा भएकाे धार्मिक हस्तक्षेपबारे अनुसन्धान गर्न निर्देशन
काठमाडाैं, साउन १५ : प्रतिनिधिसभाअन्तर्गतको महिला तथा सामाजिक समितिले थारु बस्तीमा गलत नियतले धार्मिक हस्तक्षेप गरेको भन्ने जनगुनासो आएको भन्दै यस विषयमा अनुसन्धान...
काठमाडाैं, साउन १५ : प्रतिनिधिसभाअन्तर्गतको महिला तथा सामाजिक समितिले थारु बस्तीमा गलत नियतले धार्मिक हस्तक्षेप गरेको भन्ने जनगुनासो आएको भन्दै यस विषयमा अनुसन्धान गर्न थारु आयोगलाई निर्देशन दिएको छ।
सिंहदरबारमा आइतबार बसेको समिति बैठकले थारु समुदायको धर्म परिवर्तन गर्ने उदेश्यले धर्मको प्रचार गरेको, धार्मिक रुपमा समूहकृत गर्ने गरेको र थारु भाषा लिपि संहिताकृत गर्ने नाममा थारु बस्तीमा गलत नियमले धार्मिक हस्तक्षेप गरेको भन्ने जनगुनासो आएको भन्दै यस विषयमा संवेदनशील भई कार्य सम्पादन गर्न र तत्काल अनुसन्धान सुरु गर्न थारु आयोगलाई निर्देशन दिएको हो।
त्यस्तै बैठकले थारु समुदायको संरक्षण, सम्वद्र्धन, उत्थानका लागि एकीकृत र रणनीतिक कार्ययोजना बनाई कार्यसम्पादन गर्न पनि आयोगलाई निर्देशन दिएको छ।
बैठकले प्रदेश तहमा राना थारुलाई थारु आयोगको कार्यक्षेत्रबाहिर पर्ने गरि सूचिकृत गरिएको भन्ने विषयमा लिखित रुपमा स्पष्ट जानकारी गराउन मन्त्रीपरिषद्को कार्यालय र थारु आयोगलाई निर्देशन दिइएको समिति सभापति निरुदेवी पालले बताए।
बैठकले बहुसंख्यक थारु जनसंख्या भएको स्थानमा नै थारु आयोगको कार्यालय स्थापना नगर्नु, सिकलसेल एनिमिया तथा थालासेमिया जस्ता रोग राष्ट्रिय रुपमा नै उन्मूलन गर्ने गरि कार्ययोजना बन्न नसक्नुको कारणहरु १५ दिन भित्र समितिमा उपलब्ध गराउन थारु आयोगलाई निर्देशन दिएको छ।











