Kathmandu Press

खोटाङ भूकम्पबारे जिल्ला प्रशासन र सुरक्षा निकायसँग गृहमन्त्री खाणले लिए जानकारी

काठमाडौं, साउन १५ : गृहमन्त्री बालकृष्ण खाणले बिहान खोटाङमा गएको ६ म्याग्निच्युडको भूकम्पबाट भएको क्षति र गर्नुपर्ने उद्धारबार सम्बन्धित जिल्ला प्रशासन कार्यालय र सुरक्षा...
खोटाङ भूकम्पबारे जिल्ला प्रशासन र सुरक्षा निकायसँग गृहमन्त्री खाणले लिए जानकारी

काठमाडौं, साउन १५ : गृहमन्त्री बालकृष्ण खाणले बिहान खोटाङमा गएको ६ म्याग्निच्युडको भूकम्पबाट भएको क्षति र गर्नुपर्ने उद्धारबार सम्बन्धित जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायका प्रमुखसँग जानकारी लिएका छन्।

गृहमन्त्री खाणले खोटाङका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाई, भोजपुरका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरे, नेपाल प्रहरीका प्रदेश १ प्रमुख नायब महानिरीक्षक सुदीप गिरी र सशस्त्र प्रहरी बलका प्रदेश १ प्रमुख नायब महानिरीक्षक कमल गिरीलाई टेलिफोन गरी भूकम्पको क्षति र गर्नुपर्ने उद्धारबारे जानकारी लिएका हुन्।

घाइतेको उद्धार र घर भत्किएर बस्न नहुने भएकालाई अन्यत्र सार्ने काम यथाशक्य गर्न र जिल्ला र प्रदेशको स्रोतसाधनले नपुगेमा केन्द्रमा जानकारी गराउन उनले प्रजिअ र सुरक्षा प्रमुखहरूलाई निर्देशन दिए। खोटाङका प्रमुख जिल्ला अधिकारी सेढाईका अनुसार मार्तिमबिर्ता आसपासलाई केन्द्र बनाएर भूकम्प गएको थियो।

भूकम्पबाट साकेला गाँउपालिका–५ बृष्टि बस्ने विकास कटुवालको ढुङगा माटोको गारो भएको घर, डाँडागाउँ बस्ने प्रकाश प्रधानको घरको छानामा रहेको टायल झरेको, हलेसीतुवाचुङ.नगरपालिका–९ सल्ले बस्ने धुर्ब पौडेलको ढुंगामाटोको गारो भएको घर सामान्य चर्केको र सोही नगरपालिका ७ का सयङखुका गंगा राईको घर चर्किएको खोटाङ प्रहरीले जनाएको छ।

राई घर चर्किएर बस्न नसक्ने भएपछि आफ्नो भाइको घरमा बसेको प्रहरीले जनाएको छ। अहिलेसम्म क्षतिको पूर्ण विवरण नआएको र क्षति पुगे नपुगेकोबारे बुझ्ने क्रम जारी रहेको प्रहरीले जनाएको छ। कतैबाट सूचना प्राप्त हुनासाथ परिचालित हुने गरी नेपाली सेना, प्रहरी र विपद व्यवस्थापनको टोली तयारी अवस्थामा राखिएको प्रजिअ सेढाईले बताए।

प्रकाशित मिति: १४:१० बजे, आइतबार, साउन १५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्