विश्वमा सबैभन्दा धेरै बालबालिका अमेरिकामा बन्दी
जेनेभा : अमेरिका विश्वकै धेरै बाल बन्दी भएको देश हो। संयुक्त राष्ट्र संघको एउटा अध्ययन अनुसार त्यहाँ एक लाखभन्दा धेरै अध्यागमनसम्बन्धी अन्तर्राष्....

जेनेभा : अमेरिका विश्वकै धेरै बाल बन्दी भएको देश हो। संयुक्त राष्ट्र संघको एउटा अध्ययन अनुसार त्यहाँ एक लाखभन्दा धेरै अध्यागमनसम्बन्धी अन्तर्राष्ट्रिय कानून उल्लंघन गरेको आरोपमा बन्दी छन्।
विश्वभरि १८ वर्षभन्दा कम उमेरका ७० लाखभन्दा धेरै जेल र प्रहरी हिरासतमा छन्। स्वतन्त्र विशेषज्ञ म्यानफ्रेड नोवाका अनुसार अध्यागमन हिरासत केन्द्रमा तीन लाख ३० हजारभन्दा धेरै कैद छन्।
स्वतन्त्रताबाट बञ्चित बालबालिकासम्बन्धी संयुक्त राष्ट्र संघको विश्वव्यापी अध्ययन अनुसार अन्तिम विकल्पको रूपमा सम्भव भएसम्म छोटो अवधिका लागि मात्रै बालबालिकालाई हिरासतमा राख्नुपर्छ।
“अमेरिकामा सबैभन्दा धेरै बालबालिका बन्दी छन्। अमेरिकामा एक लाखभन्दा धेरै बालबालिका अध्यागमनसम्बन्धी हिरासतमा छन्,” नोवाकले भने।
“ट्रम्प प्रशासनले बालबालिकालाई आमाबाबुबाट अलग्याएजस्तो घटनालाई बालअधिकार सम्बन्धी महासन्धीले निषेध गरेको छ। मेक्सिको र अमेरिकाको सीमामा साना बालबालिका पनि त्यसरी अलग्याइएका छन्। म यसलाई अमानवीय व्यवहार ठान्दछु।”
अमेरिकी अधिकारीले तत्काल कुनै प्रतिक्रिया दिएको छैन। सबै देशहरूलाई पठाएको प्रश्नको अमेरिकी अधिकारीले कुनै जवाफ नपठाएको नोभाकले बताए। नागरिक र राजनीतिक अधिकारको ग्यारेन्टी गर्ने र यातनालाई प्रतिबन्ध गर्ने प्रमुख अन्तर्राष्ट्रिय सन्धीमा अमेरिकाले मञ्जुरी जनाए पनि बाल अधिकारसम्बन्धी सन्धी स्वीकृत नगर्ने एक मात्र देश भएको उनले बताए।
“मध्य अमेरिकाबाट अनियमित रूपमा अमेरिका प्रवेश गर्ने कार्य निरूत्साहित गर्नकै लागि साना बालबालिकालाई परिवारबाट अलग्याउने तरिका मेरा लागि अमानविय व्यवहार हो। यसलाई दुई सन्धीले पूर्ण रूपमा निषेध गरेको छ,” युनिभर्सिटी अफ भियनाको अन्तर्राष्ट्रिय कानूनका प्राध्यापक नोवाकले भने।
अमेरिकी न्याय प्रणाली वा अध्यागमनसम्बन्धी हिरासत अन्तर्गत प्रत्येक एक लाख बालबालिकामध्ये अमेरिकाले औसतमा ६० जनालाई हिरासतमा राख्ने गरेको नोवाकले बताए। यो विश्वकै उच्च हो। यसपछि बोलिभिया, बोट्सवाना र श्रीलङ्का पर्दछन्।
मेक्सिकोमा पनि अध्यागमनसम्बन्धी हिरासतमा १८ हजार र कारागारमा सात हजार बालबालिका भएको उनले बताए। त्यहाँ थुप्रै मध्य अमेरिकी आप्रवासीलाई अमेरिकी सीमाबाटै फर्काइन्छ। पश्चिम युरोपमा प्रति एक लाख पाँच जना र क्यानडामा १४ देखि १५ जना बन्दी छन्।
इस्लामिक स्टेट लडाकूसँग जोडिएका कम्तिमा २९ हजार बालबालिकालाई उत्तरी सिरिया र इराकमा बन्दी बनाइएको छ। तीमध्ये फ्रान्सेली नागरिक सबैभन्दा धेरै रहेको नोवाकले बताए।
तीमध्ये केही बाल लडाकू भए पनि उनीहरूलाई पीडितकै रूपमा व्यवहार गर्नुपर्ने उनले बताए। यसो गर्नसके उनीहरूलाई समाजमा पुनर्स्थापना र पुनर्समायोजना गर्न सकिने उनको तर्क छ।












