Kathmandu Press

पहिलोपटक उत्पादन वृद्धि गर्ने बजेट ल्याइएको छ : अध्यक्ष दाहाल

काठमाडाैं, साउन १४ : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा नै पहिलोपटक उत्पादन वृद्धि गर्ने लक्ष्य राखेर किसानलक्षित बजेट प्रस्तुत गरिएको...
पहिलोपटक उत्पादन वृद्धि गर्ने बजेट ल्याइएको छ : अध्यक्ष दाहाल

काठमाडाैं, साउन १४ : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा नै पहिलोपटक उत्पादन वृद्धि गर्ने लक्ष्य राखेर किसानलक्षित बजेट प्रस्तुत गरिएको बताएका छन। पार्टीसम्वद्ध सम्पर्क समन्वय प्रदेश समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले माओवादीले नै किसानलक्षित बजेट प्रस्तुत गरिएका कारण प्रतिक्रियावादी, बुर्जुवा र जनविरोधी तत्व सल्बलाएर हुने/नहुने आरोप लगाएको बताए।

अध्यक्ष दाहालले माओवादीमाथि अनेकन आरोप लगाएर जनतालाई भ्रमित पार्ने षड्यन्त्र भइरहेको उल्लेख गर्दै उनले आफ्नो पार्टीबिना मुलुकको विकाससमेत सम्भव नभएको बताए। अध्यक्ष दाहालले भने, 'हामीले अर्थतन्त्रमा पनि किसानतिर फर्केको उत्पादन वृद्धि गर्ने लक्ष्य राखेको नयाँ बजेट प्रक्रियातिर देशलाई लगेका छौँ। यसबाट प्रतिक्रियावादी, बुर्जुवा र दलालहरू अत्तालिएका छन्। हामीमाथि भए/नभएको आरोप लगाएर जनतालाई भ्रमित पार्ने षड्यन्त्र गरिएको छ। त्यसको भण्डाफोर गर्नु आवश्यक छ।'

अध्यक्ष दाहालले माओवादीलाई आरोपित गर्ने प्रयास भएपछि त्यसको छानबिन समिति बनेको र समितिले कुनै त्रुटि भएको छैन भन्ने प्रतिवेदन बुझाइसकेकोसमेत उल्लेख गरे। आगामी तीन महिना माओवादीका लागि अझै चुनौतीपूर्ण रहेको भन्दै उनले सङ्घीय र प्रदेशसभाको निर्वाचनमा श्रेष्ठता हासिल गर्नुपर्नेमा जोड दिए।

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष दाहालले १२ बुँदे व्याख्यात्मक घोषणासहित एमसिसी पास गराउन र एसपिपीमा सहभागी नहुने पत्र अमेरिकालाई पठाउन पनि माओवादीकै कारण सम्भव भएको जानकारी दिए। आफैँ परिवर्तनको मालिक हुने गरेर अघि बढ्न आवश्यक रहेको भन्दै उनले देशको राजनीतिक, सामाजिक एवं आर्थिक विकासका लागि हरतरहले नेतृत्व गर्न सक्ने तागत माओवादीसँग मात्रै रहेको स्पष्ट पारे।

उनले सङ्घीय र प्रदेशसभाको निर्वाचनका लागि तीनमहिने चुनावी अभियान सञ्चालन गर्न लागिएको पनि जानकारी दिए। तीन महिना अभियानको रूपमा जाने हो भने देशमा नयाँ खालको राजनीतिक परिवर्तन ल्याउन सकिन्छ भन्ने आत्मविश्वास पैदा हुने बताए। कार्यक्रममा प्रदेश समन्वय समितिका पदाधिकारीले गत स्थानीय तहको निर्वाचनमा खेलेको भूमिकाका बारेमा जानकारी गराएका थिए।

प्रकाशित मिति: २०:०३ बजे, शनिबार, साउन १४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्