Kathmandu Press

आफूले भनेजस्तो नभए अनुशासन उल्लंघन गर्नु युवासुलभ गुण होइन : ओली

काठमाडौं, साउन १४ : एमाले अध्यक्ष केपी ओलीले युवाहरूमा पदलोलुपता हुन नहुने बताएका छन्।राष्ट्रिय युवा संघले शनिबार राजधानीमा आयोजना गरेको कार्यक्रममा उनले युवामा...
आफूले भनेजस्तो नभए अनुशासन उल्लंघन गर्नु युवासुलभ गुण होइन : ओली

काठमाडौं, साउन १४ : एमाले अध्यक्ष केपी ओलीले युवाहरूमा पदलोलुपता हुन नहुने बताएका छन्।

राष्ट्रिय युवा संघले शनिबार राजधानीमा आयोजना गरेको कार्यक्रममा उनले युवामा केही कमजोर पक्ष देखिएको बताउँदै सबैमा अनुशासन हुनुपर्नेमा जोड दिए। 

‘युवाहरूमा कमीकमजोरीका पक्ष हुनुहुँदैन। युवा उमेर भनेको भर्खरभर्खर राजनीतिमा प्रवेश गर्दै गरेको उमेर हो। यतिबेलै पदलोलुपता आयो भने, यतिबेलै महत्त्वाकांक्षा पलायो भने, पदबिनै बस्न नसक्ने अवस्था भयो भने, पदै दिनकै लागि ३०–३५ जना उपाध्यक्ष बनाउनुपर्ने अवस्था आउन सक्छ,’ उनले भने

युवाहरूलाई माथिल्ला पद नभइ नहुने भएर ठुल्ठुला कमिटी बनाउनुपर्ने अवस्था आयो भने त्यो राम्रो नहुने उनको भनाइ थियो। ‘आफूले भनेजस्तो भएन भने अनुशासन उल्लंघन गरेर हिँड्नु युवासुलभ गुण होइनन्। त्यसकारण युवाहरूमा वैचारिक स्पष्टता र दह्रोपन आवश्यक छ। त्यसलाई व्यवहारमा एकताबद्ध र अनुशासित रूपमा उतार्न सक्नुपर्छ। पद प्राप्तिका लागि होइन, काममा प्रतिस्पर्धा गर्नुपर्छ,’ उनले भने।

अहिले पनि एमाले देशको सबैभन्दा ठुलो पार्टी भएको दाबी उनले गरे। चौतर्फी घेराबन्दीका बाबजुद पनि युवा शक्तिकै कारण एमाले सबैभन्दा ठुलो र लोकप्रिय पार्टी भएको जिकिर उनको थियो।

प्रकाशित मिति: १८:२५ बजे, शनिबार, साउन १४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्