राजाबाट ऋण मिनाहा गराउने सानी छोरी
बालिकाको कुराले राजा प्रसन्न भए। उनले आफ्नो गलाबाट मोतीको माला बालिकालाई दिएर भने– ‘छोरी, तिम्रो बुद्धिमानीको पुरस्कार लिनू। मैले तिम्रो पिताको ऋण मिनाहा गरिदिएको छु। अब खुसीसाथ रहनू।’
एक गरिब व्यक्ति एक दिन राजाकहाँ ऋण माग्न गए। उनले राजालाई भेटेर भने, ‘महाराज ! मलाई केही रुपैयाँ आवश्यक पर्यो। कृपा गरेर पाँच हजार रुपैयाँ ऋण दिनुस्। पाँच वर्षभित्र मैले हजुरको रुपैयाँ फिर्ता गर्नेछु।’
राजाले उनीमाथि विश्वास गरे र उनलाई पाँच हजार रुपैयाँ दिए। पाँच वर्ष बित्यो, ती ऋण लैजाने व्यक्तिले राजाको रुपैयाँ फिर्ता गरेनन्। राजा बाध्य भएर ऋणीको घरमा जानुप¥यो। तर, घरमा राजाले ती व्यक्तिलाई भेटेनन्। घरका मानिसले राजालाई अनेक बहाना बनाएर खाली हात फिर्ता पठाए।
एक दिन पुनः राजा त्यस व्यक्तिको घर गए। घरमा एउटी सानी केटी थिइन्। राजाले ती बालिकासँग सोधे– ‘तिम्रा पिता कहाँ गएका छन्?’
बालिका बोलिन्– ‘पिताजी स्वर्गको पानी रोक्न जानुभएको छ।’
राजाले फेरि सोधे– ‘तिम्रा दाइ कहाँ गएका छन् ?’
बालिका बोलिन्, ‘बिनाझगडा लडाइँ गर्न जानुभएको छ।’
राजाले बालिकाको एउटा कुरा पनि बुझेका थिएनन्। तैपनि उनले फेरि सोधे– ‘तिम्री माता कहाँ गएकी छन् ?’
बालिका बोलिन्, ‘माता एकलाई दुई बनाउन जानुभएको छ।’
बालिकाका बांगा जवाफबाट राजा क्रोधित भए। उनले रिसाएर सोधे– ‘तिमी यहाँ बसेर के गरिरहेकी छौ ?’
बालिका हाँसेर बोलिन्– ‘म यहाँ बसेर संसार देखिरहेकी छु।’
राजाले बुझे कि यस केटीले कुनै पनि प्रश्नको सीधा जवाफ दिन्न। राजालाई बालिकाका हर जवाफको अर्थ जान्ने मन भयो। त्यसैले उनले बालिकासँग प्रेमपूर्वक सोधे– ‘छोरी, मैले सोधेका सवालमा तिमीले भर्खरै जे जवाफ दियौ, त्यसको अर्थ के हो ? मैले तिम्रा कुरा केही पनि बुझिनँ। आफ्ना कुराको मलाई सीधासीधा अर्थ बुझाऊ।’
बालिकाले मन्द हाँसोसहित सोधिन्– ‘यदि मैले सबै कुराको अर्थ बताएँ भने मलाई हजुरले के दिनुहुन्छ ?’
राजालाई बालिकाको जवाफको अर्थ जान्ने उत्कण्ठा हुन्छ। त्यसैले उनले भने– ‘तिमीले जे माग्छौ, म दिनेछु।’
बालिका बोलिन्– ‘हजुरले मेरो पिताजीको सबै ऋण मिनाहा गर्नुहुन्छ भने मैले सबै कुराको अर्थ बताउँछु।’
राजाले भने– ‘ठीक छ, तिम्रो सर्त मन्जुर छ।’
‘महाराज ! आज मैले हजुरलाई सबै कुराको अर्थ बताउन असमर्थ छु, भोलि आउनुस्, अवश्य बताउनेछु।’
अर्को दिन राजा त्यस बालिकालाई भेट्न गए। त्यस दिन घरमा सबै परिवार थिए। सबैको माझमा बालिकाले राजासँग सोधिन्– ‘महाराज, हजुरलाई आफ्नो वचन सम्झना छ नि ?’
राजा बोले– ‘मलाई याद छ। तिमीले सबै कुराको अर्थ बतायौ भने मैले तिम्रो पिताको सबै ऋण मिनाहा गरिदिनेछु।’
बालिकाले भनिन्– ‘सबैभन्दा पहिले मैले यो भनेकी थिएँ कि मेरा पिताजी स्वर्गको पानी रोक्न जानुभएको छ। यसको अर्थ हो– पानी परिरहेको थियो, हाम्रो घरको छाना चुहिने थियो। पिताले पानी चुहिन नदिन छानो छाइरहनुभएको थियो। अर्थात्, वर्षाको पानी आकाशबाट झर्छ। हामीले आकाशमै स्वर्ग छ भनेर मान्छौँ। वश, पहिलो जवाफको अर्थ यही हो।
दोस्रो जवाफमा मैले भनेकी थिएँ– दाइ बिनाझगडा लडाइँ गर्न जानुभएको छ। यसको अर्थ हो– उहाँ कण्टकारी (काँडेदार वनस्पति) काट्न जानुभएको थियो। यदि कसैले कण्टकारीलाई काट्छ भने उसको शरीरमा जहाँतहीँ काँडा बिझ्छ। अर्थात् झगडा नगरे पनि लडाइँ हुन्छ, शरीरमा घाउ लाग्छ।’
राजा उनको कुरामा सहमत भए। मनमनै उनले बालिकाको प्रशंसा गर्न लागे। उनले उत्सुकताका साथ सोधे– ‘तेस्रो र चौथो जवाफको अर्थ बताऊ छोरी। म सुन्न आतुर छु।’
बालिकाले भनिन्, ‘महाराज, तेस्रो जवाफमा मैले भनेकी थिएँ– माताले एकलाई दुई बनाउन जानुभएको छ। मेरी माता रहरको दाल पिसाउन जानुभएको थियो। सिंगो रहरलाई पिस्दा दुई दाना बन्छन्। मेरो भनाइको अर्थ थियो– माता एकलाई दुई बनाउनु जानुभएको छ।
रह्यो, चौथो जवाफ। त्यसबेला मैले भात पकाइरहेकी थिएँ। मैले एउटा सिता छामेर पूरै भाँडाको भात पाकेको छ कि छैन भनी हेर्दै थिएँ। अर्थात्, संसारको जहाँसुकै एउटा भाँडामा भात पकाउँदा सबै भात एकैपटक पाक्छ भन्ने कुरा मैले हेरिरहेकी थिएँ।
यति भनेर बालिका चुप लागिन्। राजाले सबै जवाफको अर्थ बुझे। बालिकाको चलाखीपूर्ण जवाफले उनी आश्चर्यमा परे। राजाले भने– ‘छोरी, तिमी निकै चलाख छौ। मैले अझै तिम्रो एउटा कुरा बुझ्न सकेको छैन। यो कुरा तिमीले मलाई हिजै बताउन सक्थ्यौ, किन आज बोलायौ ?’
बालिकाले हाँस्दै भनिन्, ‘मैले भनिसकेँ, हिजो मैले भात पकाइरहेकी थिएँ। यदि मैले हजुरलाई सबै कुरा बताएको भए भित्र भात डढ्न सक्थ्यो। माताले मलाई पिट्नुहुन्थ्यो।
अर्को कुरा, हिजो घरमा म मात्रै थिएँ। हिजो मैले सबै कुरा बताएर हजुरले ऋण मिनाहा गरिदिएको भए पनि घरका मानिसले पत्याउने थिएनन्। आज हजुरको मुखबाट सुनेपछि सबैले पत्याएका छन्।’
बालिकाको कुराले राजा प्रसन्न भए। उनले आफ्नो गलाबाट मोतीको माला बालिकालाई दिएर भने– ‘छोरी, तिम्रो बुद्धिमानीको पुरस्कार लिनू। मैले तिम्रो पिताको ऋण मिनाहा गरिदिएको छु। अब खुसीसाथ रहनू।’
यति भनी बालिकालाई आशीर्वाद दिएर राजा आफ्नो बाटो लागे। सबैभन्दा सानी सदस्यको चलाखीले राजाको ऋण मिनाहा भएपछि घरका सबै खुसी भए।
(चतुराई शीर्षकको हिन्दी लोककथाको भावानुवाद।)











