Kathmandu Press

सागको ओलम्पिक टर्च र्‍याली स्वयम्भूबाट सुरू

काठमाडौं, मंसिर ६ : दक्षिण एशियाली राष्ट्रको सबैभन्दा ठूलो प्रतियोगिताको रुपमा रहेको १३औं दक्षिण एशियाली खेलकूद (साग) को ओलम्पिक टर्च र्‍याली स्वय....

सागको ओलम्पिक टर्च र्‍याली स्वयम्भूबाट सुरू

काठमाडौं, मंसिर ६ : दक्षिण एशियाली राष्ट्रको सबैभन्दा ठूलो प्रतियोगिताको रुपमा रहेको १३औं दक्षिण एशियाली खेलकूद (साग) को ओलम्पिक टर्च र्‍याली स्वयम्भूबाट सुरू भएको छ।

राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव रमेशकुमार सिलवालले आज स्वयम्भूमा ओलम्पिक टर्च प्रज्वलन गरी ओलम्पियन समूहलाई हस्तान्तरण गरे। सागको महत्वबारे देश भरी फैल्याउने उद्देश्यले टर्च र्‍यालीलाई सातै प्रदेशको मुख्य शहरमा पुर्‍याउने कार्यक्रम रहेको छ।

ओलम्पिक टर्च काठमाडौँबाट आजै प्रदेश १ को राजधानी विराटनगरमा पुर्‍याइने कार्यक्रम रहेको छ। त्यसैगरी दोस्रो दिन प्रदेश २ को जनकपुर, तेस्रो दिन प्रदेश ३ को हेटौँडा र चितवन, चौथो दिन प्रदेश ५ को लुम्बिनी र बुटवल, पाँचौँ दिन कर्णाली प्रदेशको सुर्खेत र प्रदेश ५ को नेपालगञ्ज, छैटौँ दिन सुदूरपश्चिम प्रदेशको धनगढी तथा सातौँ दिन गण्डकी प्रदेशको पोखरा लगिने कार्यक्रम छ।

आठौँ दिन टर्चलाई पोखरामा नगर परिक्रमा गराइनेछ। त्यही दिन पोखराबाट टर्चलाई काठमाडौँ ल्याइनेछ। नवौँ दिन काठमाडौँको विभिन्न स्थान परिक्रमा गराइ त्यसै दिन साग उद्घाटनस्थल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा दीप प्रज्वलन गरिने कार्यक्रम छ।

र्‍यालीमा ओलम्पियनहरु तेक्वान्दोका दीपक विष्ट, एथलेटिक्सका बैकुण्ठ मान्नधर र राजेन्द्र भण्डारी, पौडीकी नयना शाक्य, बक्सिङका उमेश मास्के, जुडोकी देवु थापा, एथलेटिक्सका जितबहादुर केसी र एथलेटिक्सका ज्ञानबहादुर बोहरा, सुटिङका टीकाराम श्रेष्ठ, एथलेटिक्सका राजकुमारी पाण्डे, कान्छीमाया कोजु र मुकुन्दहरि श्रेष्ठ तथा खेलाडी सङ्घका अध्यक्ष एवं करातेका दीपक श्रेष्ठ सहभागी रहेका छन्।

साग यही मंसिर १५ देखि २४ गतेसम्म काठमाडौँ, पोखरा र जनकपुरमा हुँदैछ।

प्रकाशित मिति: १४:०१ बजे, शुक्रबार, मंसिर ६, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्