मन्त्री चौधरीद्वारा उपाध्यायलाई दुई विश्व रेकर्ड हस्तान्तरण
काठमाडौं, साउन १२ : कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायले नेपालसहित ५० भाषामा एक गीत सार्वजनिक गरेर विश्व रेकर्ड बनाएका छन्। बुधबार साँझ राजधानीमा आयोजित....jpg)
काठमाडौं, साउन १२ : कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायले नेपालसहित ५० भाषामा एक गीत सार्वजनिक गरेर विश्व रेकर्ड बनाएका छन्। बुधबार साँझ राजधानीमा आयोजित एक कार्यक्रममा उनलाई उक्त विश्व रेकर्ड (गिनिज बुक अफ वल्र्ड) प्रमाण पत्र सहरी विकास मन्त्री मेटमणि चौधरीले प्रदान गरे।
कार्यक्रममा मन्त्री चौधरीले डा. उपाध्याय अद्भूत क्षमता रहेको व्यक्तिका रुपमा चर्चा गरे। उनले देशलाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन गरेको यो योगदानको उचित सम्मान र कदर गर्नुपर्ने बताए। अझै धेरै कीर्तिमान कायम गर्दै जानका लागि शुभकामनासमेत दिएका मन्त्री चौधरीले डा. उपाध्यायको अद्भूत क्षमता सबैको खोजको विषय हुनुपर्ने धारणासमेत राखे।
सन्तोष श्रेष्ठको संगीत रहेको गीतमा नेपाली भाषामा सन्तोषको स्वर, हिन्दीमा डिआरको र अन्यमा प्रकाश तिम्लिसिनकोे स्वर रहेको छ।
गीत नेपालसहित हिन्दी, जापानी, चिनिया, अंग्रजी, रुसी, कोरियाली, फ्रान्सेली, स्पेनी, इटालियन, जर्मन, थाई, मौरिसियन, उर्दु, स्वेडिस, क्रोसियन, हेब्रु, पोर्तुगाली, बंगाली, संस्कृत, स्टोनियन, भियतनामी, डच, सिंहाली, स्लोभेनियन, इन्डोनेसियन, रुमानी, फिनिस, पेरुभियन, टर्किस, ग्रिक, फिलिपिनो, अल्बानियन, युक्रेनियन, अफ्रिकी, स्लोभाकिया, सर्बियाली, पानामियन, नर्वेजियन, आइसल्यण्डीक, बर्मेली, कोल्म्बीयन, कुर्डिस, स्वाहिली, पोलिस, बोलिभियन, हङ्गेरियन, डेनिस, लात्भियन र आर्मेनियन भाषामा रहेको छ।
खनाल समाजका अध्यक्ष केदारनाथ खनाल, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका निर्वतमान अध्यक्ष राधेश्याम लेकाली, गीतकार संघका निवर्तमान अध्यक्ष चूडामणि देवकोटा, पूर्वराजदूत रमेशप्रसाद खनाललगायतको गीतका उपाध्यायले आफूले आफ्ना लागि मात्र नभएर आफ्नो समाज र देशलाई चिनाउन फरक कार्य गर्दै आएको बताए।
उक्त अवसरमा तिलिचो हिमालमा लोकार्पण गरिएको उपन्यास ‘भाइरस लभ’ को विश्व कीर्तिमानको प्रमाण पत्र पनि डा. उपाध्यायलाई प्रदान गरिएको थियो। यसअघि गीतसंगीत तथा विविध विधामा १०८ विश्व कीर्तिमान कायम गरेका उपाध्यायको कीर्तिमान ११० पुगेको छ।
कार्यक्रममा संगीतकार सन्तोष श्रेष्ठ, पत्रकार कुबेर गिरी, तुलसी गिरी, कृष्ण भुसाल, गीता अधिकारीलगायतले ५० भाषामा गीतमा निर्वाह गरेको भूमिका मार्फत विश्व रेकर्डको प्रमाणपत्र हात पारे। उपाध्यायका २८ एल्बम र दर्जन बढी उपन्यास प्रकाशित छन्।












