Kathmandu Press

पोखरामा ‘शास्त्रीय संगीत महोत्सव’ हुने

पोखरामा ‘शास्त्रीय संगीत महोत्सव’ हुने

पाेखरा, साउन १२ : सनातन कला साहित्य कुञ्ज काठमाडौँको आयोजनामा यही  साउन १७ र १८ गते पोखरामा ‘शास्त्रीय सङ्गीत महोत्सव’ आयोजना हुने भएको छ।

कुञ्जका अध्यक्ष उत्तम रिमालले ‘शास्त्रीय सङ्गीतको महत्व बुझाउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको जानकारी दिए। उनले यसअघि काठमाडौं  केन्द्रितमात्रै कार्यक्रम भएको जनाउँदै अब प्रदेशस्तरमा नै  शास्त्रीय सङ्गीत कार्यक्रमको आयोजना गर्न लागिएको बताए। उनले भने, 'अहिले समय बदलिँदै गएको छ। शास्त्रीय सङ्गीतको महत्व बुझ्न खोज्नेको जमात पनि बाक्लो हुँदै गएको छ। पोखरा पनि संगीतको उर्भरभूमि भएकाले शास्त्रीय सङ्गीत महोत्सव गर्न लागेका हाैं, कार्यक्रम सफल हुने विश्वास लिएका छौं।'

Hardik ivf

उनले लोकसङ्गीत र पपसङ्गीतको विशेषता पोखरासँग रहेको र अब शास्त्रीय सङ्गीत सुस्ताएको पोखरामा महोत्सवले फेरि ब्युँझाउने भनाइ राखे। कार्यक्रममा गायक तथा जोजिजू म्युजिक स्कुलका सञ्चालक विनित जोजिजूले शास्त्रीय सङ्गीत व्यावसायिक हुनुपर्नेमा जोड दिँदै पोखरामा शास्त्रीय सङ्गीत महोत्सवजस्ता कार्यक्रमले निरन्तरता पाउनुपर्ने आवश्यकता औँल्याए।

अग्रज कलाकार तथा तबला वादक श्यामलाल श्रेष्ठले पोखराको साङ्गीतिक उत्थानका लागि एकताको खाँचोमा जोड दिए। उनले शास्त्रीय सङ्गीत समाज गण्डकी प्रदेशले समेत पोखरामा शास्त्रीय संगीतको विकासका लागि पहल भइरहेकोसमेत जानकारी दिए।

कार्यक्रममा वरिष्ठ सितारवादक प्रा.डा. ध्रवेशचन्द्र रेग्मी, वरिष्ठ कत्थक नृत्यकार कृष्णप्रसाद पौडेल, कत्थक नृत्याङ्गना श्रुति काफ्ले, तबलावादक जगन्नाथ धगौडा, ध्रुपद गायक कुन्दन पाठक, बासुरीवादक उमेश पण्डित, पखावजवादक मुकेश शाक्य, तबलावादक निमेश कपालीको प्रस्तुति रहने आयोजकको भनाइ छ।

प्रकाशित मिति: १२:१३ बजे, बिहीबार, साउन १२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्