सशक्त र सुदृढ न्यायपालिका हुनुको अर्थ
एउटा असक्षम र अयोग्य व्यक्ति न्यायासनमा कथंकदाचित बस्न पुग्यो भने उसले गर्ने न्यायको नामको अन्यायले सम्बद्ध नागरिकले लामो समय न्यायको यात्रामा प्रताडित भइरहनुपर्छ।कोही पनि व्यक्ति जन्मजात न्यायाधीश हुँदैन। समाजले नै न्यायाधीश जन्माउँछ र बनाउँछ पनि। समाजभित्रको शिक्षा, संस्कार, व्यवहार, आचरण, अवसर र अभ्यासको परावर्तन नै असल न्यायाधीशको वैयक्तिक र चारित्रिक आधार हो। यसलाई समाजको स्थिर पुँजीका रूपमा समाजले नै जोगाइरहनुपर्छ।
न्याय सम्पादन कार्य कुनै गणितीय सूत्रबद्ध जुक्ति होइन। प्रविधिको सहयोगले निकालिने कुनै वाञ्छित नतिजा मात्र पनि होइन। यो हरेक घटनाको फरकफरक सच्चाइको गुणात्मकतामा नापिन्छ, सम्बन्धित पक्षको सन्तुष्टिको गहिराइमा खोजिन्छ, सत्यको निकटतामा पर्गेल्ने गरिन्छ।
निष्पक्षता, निर्भिकता र न्यायप्रतिको उच्च निष्ठासहितको समर्पण भाव नभई व्यक्तिमा भएको केवल कानुनको कोरा अध्ययन र शैक्षिक उच्च उपाधिले मात्र न्यायको उच्चतम मर्मबोध र न्याय प्रवाहको सुनिश्चितता हुन सक्दैन। न्यायासनमा बसेको व्यक्ति अध्ययनमा अब्बल त छ तर आचरण खराब छ, आचरण असल छ तर क्षमता र दक्षतामा औसतभन्दा तल छ, क्षमता, अध्ययन र आचरणमा उन्नत छ तर सामयिक परिस्थितिलाई कानुनअनुकूल सन्तुलनमा राख्न सक्ने स्वभाव सर्वथा अभाव छ र विषयकेन्द्रित प्रवृत्तिमा लिप्त छ भने पनि न्यायको नतिजा सुखद हुन सक्दैन।
न्यायाधीशले भिडको भारलाई पनि सहजै पन्छाउन सक्ने सामथ्र्यको विकास गर्नुपर्छ। भिडले सत्य जान्दैन तर भिडमा सत्य हराउनु पनि हुँदैन। भिडको मनोविज्ञान र न्यायको सारबीच कुनै तालमेल हुँदैन तर जब भिडले सत्यको निक्र्योल गर्ने गर्छ तब सत्यको स्वत्व र सार पनि रहँदैन। एउटा असक्षम र अयोग्य व्यक्ति न्यायासनमा कथंकदाचित बस्न पुग्यो भने उसले गर्ने न्यायको नामको अन्यायले सम्बद्ध नागरिकले लामो समय न्यायको यात्रामा प्रताडित भइरहनुपर्छ।
न्यायाधीशले गर्ने गल्ती सच्याउनै नसकिने हुन्छ। सच्याउँदा पनि खर्चिलो र झन्झटिलो हुन्छ। झन्झटिलो प्रक्रियाको उल्झनमा पर्न सक्ने नागरिकको जोखिमको अवस्थालाई न्यायाधीशको नियुक्तिकर्ताले अत्यन्त सावधानीका साथ हेर्दै उच्चस्तरको सावधानी अपनाउनुपर्छ। त्यसैले न्यायाधीशको नियुक्तिमा धेरैजनाको सहभागिताभन्दा पनि धेरै तहको परीक्षण विधिहरू अवलम्बन गर्ने गरिन्छ।
समाजले सधैं स्वच्छ छविका विवादरहित व्यक्तिहरू नै रोज्ने र खोज्ने गर्छ। यसकारण न्यायाधीश नियुक्तिकर्ताले पनि कानुनको आवरणमा मात्र होइन, समाजको अपेक्षा र यथार्थतालाई पनि ध्यान दिनुपर्छ। स्वयं नियुक्तिकर्ता पनि स्वतन्त्र नागरिक पर्यवेक्षकको नजरमा खरो रूपमा उत्रनुपर्ने हुँदा उनीहरूको निरपेक्ष अपेक्षालाई नियुक्तिकर्ताले पनि स्वाभाविकताकै कसीमा उत्रिनुपर्छ।
न्यायाधीश भइसकेपछि उसले गर्ने आदेश वा निर्णयहरूको सार्वजनिक रूपमा न्यायिक सम्परीक्षण हुने हुँदा स्वतन्त्र पर्यवेक्षकका रूपमा रहेको आम नागरिकको आँखामा योग्य साबित हुन नसक्ने र निष्पक्षता स्थापित गर्न नसक्ने व्यक्ति न्यायासनमा बस्नै सक्दैन। त्यसैले जिम्मेवारीमा बस्ने व्यक्ति स्वयंले पनि आफ्नो सान्दर्भिकता, उपयुक्तता र औचित्य स्थापित गर्न सक्नुपर्छ।
विकसित देशहरूमा न्यायायाधीशलाई न्यायाधीशको कामका आधारमा मात्र मूल्यांकन गर्ने गरिन्छ। न्यायाधीशको नियुक्तिपछि उसले गरेका आदेश वा निर्णयहरूका आधारमा मात्र उसको न्यायिक कार्यक्षमताको जाँच गर्ने गरिन्छ। त्यसैले ऊ समाजमा हिजो के थियो वा कहाँ थियो र अन्य के कुन पेसा व्यवसाय गथ्र्यो भन्ने कुराले न्यायाधीश भइसकेपछि खास केही अर्थ राख्दैन।
यसर्थ हरेक विवादभित्र संवाद खोज्ने, समस्याभित्र समाधान देख्ने र सूक्ष्म विश्लेषण गर्न सक्ने सम्यक सोच, स्पष्ट दृष्टिकोण अनि सदविवेकसहितको उन्नत चेतना भएको सात्विक व्यक्ति नै न्यायासनका लागि योग्य र उपयुक्त मानिन्छ। त्यस्ता सुयोग्य व्यक्तिको विचार प्रवाह र कार्य सम्पादनबाट मात्र समग्र न्यायको रक्षा हुन सक्छ भन्ने मान्यता रहेको पाइन्छ।
संसारका कतिपय विकसित देशहरूमा न्यायाधीशहरू जनताबाट निर्वाचित हुने पनि गर्छन्। ती व्यक्ति कानुनका विज्ञ नभए पनि न्यायका मर्मज्ञ साबित भएका छन्। कतिपय देशहरूमा न्यायाधीशहरू देशको कार्यकारिणीबाट नियुक्त हुने र त्यस्तो नियुक्ति विधायिकाबाट अनुमोदित हुने गर्छन्।
त्यस्ता नियुक्तिहरूका कामकारबाहीहरूमा विधायिकी प्रभाव पर्ने गरेकोे देखिँदैन। त्यसो नहुनुको पछाडि न्यायाधीशमा नियुक्त हुने व्यक्तिको नियुक्तिदाता प्रति अनुगृहित नहुने व्यक्तिगत स्वाभिमान, समझ, विधायिकाको अहस्तक्षेपकारी नीति र चरित्र नै प्रमुख रहेको पाइन्छ।
केही अन्य देशहरूमा सरकारबाटै सिधै न्यायाधीशहरू नियुक्त हुने गर्छन् र उनीहरूले सरकारको निर्देशनबमोजिमको न्याय गर्ने गर्छन् किनकि ती देशहरूको सन्दर्भमा न्याय भनेकै जिम्मेवारीको निर्देशन हो। छिमेकी देश भारतमा न्यायाधीश र न्यायविद्हरूको कलेजियम प्रणालीबाट न्यायाधीश नियुक्तिको सिफारिस गर्ने गरिन्छ भने हाम्रो देशमा परिषद् प्रणालीको अभ्यास निरन्तर छ।
जुन प्रणालीबाट न्यायाधीशहरूको नियुक्त गरिएको भए पनि न्यायप्रति निष्ठावान् र समर्पित व्यक्तिको चयन भएको अवस्थामा मात्र नियुक्त व्यक्तिबाट सम्पादित न्याय कम विवादित हुने गरेकोे देख्न र सुन्न पाइन्छ।
ज्ञानयुक्त, निर्भिकता र विवेकयुक्त स्वतन्त्रता भएन भने न्याययुक्त निष्पक्षता रहँदैन। निष्पक्षता, निर्भिकता र स्वतन्त्रतासँग न्यायको विश्वसनीयता अभिन्न रूमा जोडिएको हुन्छ। न्यायको विश्वसनीयताका यी आधारहरूलाई जोगाउन न्यायाधीशको व्यक्तिगत तत्परता र न्यायपालिकाको अनवरत संस्थागत प्रयत्न त चाहिन्छ नै, साथै सम्बद्ध अरू निकाय र सिंगो समाजको दायित्व पनि उत्तिकै रहन्छ।
नागरिकलाई न्यायको भरपर्दो ओत दिन पनि सक्षम र स्वतन्त्र न्यायपालिका आवश्यक पर्छ। त्यसैले न्यायालयको शुद्धीकरणका लागि थालिएका सुधारका प्रयासहरूलाई सुधारकै रूपमा बढी बुझौं र अन्यथा अर्थमा नहेरौं। सम्बद्ध सबैले आआफ्नो स्वतन्त्रतालाई मर्यादित र जिम्मेवार ढंगले आआफ्नो ठाउँबाट अभ्यास गरौं। न्यायालयका संवेदनशील कामकारबाहीहरूलाई संवेदनशील भएर जिम्मेवार ढंगले न्यायिक मनका साथ हेर्ने गरौं। बुझ्ने गरौं र त्यसरी नै लेख्ने गरौं।
यदि तलाउको पानी फोहोर भयो भने तलाउ त सफा गर्नुपर्छ नै, तलाउ वरिपरिको परिवेश पनि सँगसँगै सफा गरिनुपर्छ। अन्यथा, क्षणिक रूपमा तलाउ सफाजस्तो देखिए पनि फोहोर हुने क्रम बढी रहनेछ र तलाउको परिवेशमा फोहोर गर्ने प्रवृत्तिहरू पनि बढी रहनेछन्। सफेद समाजमै सफेद संस्थाहरू जन्मन्छन्, हुर्कन्छन् र ती संस्थाहरूले आशातीत परिणामहरू दिने गर्छन्।
न्यायिक स्वतन्त्रता न्यायाधीश र न्यायापालिकाको व्यक्तिगत÷संस्थागत स्वतन्त्रता एवं सुरक्षाका लागी होइन, यो त नागरिकको बृहत्तर स्वतन्त्रतताको रक्षाका लागि हो। नागरिकको बृहत्तर स्वतन्त्रता रक्षाका लागि रक्षाकवचका रूपमा रहेको न्यायपालिकाको संस्थागत संवैधानिक स्वतन्त्रता र न्यायाधीशको कार्यगत स्वतन्त्रतालाई न्यायाधीशको निजी स्वतन्त्रता र स्वच्छन्द व्यवहारका रूपमा प्रयोग गरियो भने परिणाम दुःखद हुने गर्छ। न्यायाधीशले गर्ने न्यायका आधारमा नै न्यायपालिकाको स्थान सुरक्षित रहन्छ।
आधुनिक समाजले दैवीय/ईश्वरीयजस्तो चामत्कारिक न्यायको अपेक्षा त राख्दैन होला तर जेजति सामयिक अपेक्षा राख्छ प्रचलित कानुनको अधीनमा रहेर त्यसको प्रभावकारी सम्बोधन गर्ने सामथ्र्य त न्यायपालिकाले राख्नैपर्छ। त्यसका लागि न्यायाधीशको योग्यता र क्षमतालाई समयानुकूल तिखार्ने निखार्ने काम पनि स्वयं न्यायाधीशहरूको र न्यायपालिकाकै हो।
न्यायाधीशहरूको क्षमता विकासका लागि गरिने संस्थागत लगानीले पनि संस्थागत सुधारका लागि ठुलो महत्व राख्छ। अतः न्यायिक स्वतन्त्रतालाई न्यायिक स्वच्छन्दताका रूपमा प्रयोग हुन नदिऔं। तर स्वतन्त्रतालाई अविश्वासको अस्त्रले संकुचन पनि नगरौं।
किनकि, स्वतन्त्रता संकुचित भयो, निर्भिकता निरीह भयो र निष्पक्षता पक्षधरतामा परिणत भयो वा निर्णयहरू अनिर्णीत अवस्थामा रहने भयो भने भोलि समाजमा आउन सक्ने सम्भावित अराजक विपत्तिको रक्षाकवचका रूपमा रहनुपर्ने न्यायपालिका नै निरीह हुने खतरा पैदा हुन बेर लाग्दैन।
त्यतिखेर नागरिकको स्वतन्त्रता खतरामा पर्ने जोखिम रहन्छ। न्यायपालिकाको स्वतन्त्रताभित्र नै नागरिक स्वतन्त्रता, प्रेस स्वतन्त्रता र अन्य विभिन्न पेसागत स्वतन्त्रताहरू सुरक्षित हुन सक्ने हुँदा स्वतन्त्रताको गम्भीरतालाई सबैले गम्भीर रूपले मनन गर्नु आवश्यक छ।
(रावल जिल्ला न्यायाधीश हुन्)