बर्खास्त गरिएका मन्त्रीले लेखे, ‘प्रधानमन्त्रीज्यूप्रति कृतज्ञ छु’
काठमाडौं, मंसिर ५ : राम्रो काम गर्दा पनि केही मन्त्रीलाई हटाएको भन्दै आलोचना भइरहेका वेला गोकर्ण बिष्टले भने प्रधानमन्त्री केपी शर्मा ओलीप्रति कृतज्ञत....

काठमाडौं, मंसिर ५ : राम्रो काम गर्दा पनि केही मन्त्रीलाई हटाएको भन्दै आलोचना भइरहेका वेला गोकर्ण बिष्टले भने प्रधानमन्त्री केपी शर्मा ओलीप्रति कृतज्ञता जाहेर गरेका छन्।
उनले केहीवेर अघि आफ्नो फेसबुक पेजमा स्टाटस लेख्दै भनेका छन्, ‘मन्त्रीको रुपमा काम गर्ने अवसर प्रदान गर्ने सम्मानीय प्रधानमन्त्रीज्यूप्रति कृतज्ञ छु।’
प्रधानमन्त्रीले हटाउँदा पनि उनले कुनै गुनासो गरेका छैनन्। बरु थप उर्जा प्राप्त भएको बताएका छन्। उनले लेखेका छन्, ‘अहिले मन्त्रीबाट बाहिरिएको छु, थप उर्जा र प्रेरणाका साथ।’
निवर्तमान श्रममन्त्री बिष्टले नेपाली श्रमिकका पक्षमा रहेर काम गरेको बताएका छन्। उनले भनेका छन्, ‘जति दिन श्रममन्त्रीको रुपमा रहेँ, वैदेशिक रोजगारीको नाममा ठगीमा परेका युवाहरू, पसिनाको मूल्य नपाएका श्रमिकहरू र वेरोजगार युवाहरूको पक्षमा इमानदारीपूर्वक ज्यामी माहुरीले जस्तै काम गर्ने प्रयास गरेँ।’
उनले वैदेशिक रोजगारमा जाने श्रमिकका पक्षमा काम गरेका थिए। जसले गर्दा मेनपावर व्यवसायीहरु उनको विपक्षमा थिए।
त्यस्तै, उनले सामाजिक सुरक्षा कोषको योजना ल्याएका थिए। श्रमिकलाई पनि सबै सुविधा उपलब्ध गराउने गरी ल्याएको सामाजिक सुरक्षा कोषको सबैतिरबाट प्रशंसा गरिएको थियो।











