‘माया जाल’ श्रव्य दृश्य गीत सार्वजनिक
काठमाडाैं, साउन ८ : ‘द भ्वाइस अफ नेपाल सिजन-३’ को चौथो वरीयाताका प्रतिस्पर्धी गायक ज्वाला राईले नयाँ साङ्गीतिक सौगात ‘माया जाल’ सार्वजनिक गरेका...
काठमाडाैं, साउन ८ : ‘द भ्वाइस अफ नेपाल सिजन-३’ को चौथो वरीयाताका प्रतिस्पर्धी गायक ज्वाला राईले नयाँ साङ्गीतिक सौगात ‘माया जाल’ सार्वजनिक गरेका छन्।
प्रेमिल शैलीको यस गीतमा मिलन किराँतीको शब्द रहेको छ भने विक्रम राईको सङ्गीत रहेको छ। देवेश राईले यस गीतलाई सङ्गीत संयोजन गरेका हुन्। लुटपाटको घटनालाई आधार बनाएर तयार पारिएको म्युजिक भिडियोको कथामा गायक राई खलनायक चरित्रका रूपमा प्रस्तुत हुनुभएको छ।
‘माया त गर्छु भन्छ्यौ, खै कस्तो छ तिम्रो चाल पो’, ‘हेर्दा त परी जस्ती छ्यौ, थाहा छैन मनकी कस्ती छ्यौ’, ‘भेटेको धेरै भाको छैन, पिरती हामीले लाको छैन’ लगायत बोलका गीत म्युजिक भिडियोमा समावेश गरिएको छ।
भिडियोमा मानुषी तामाङ र गायक राईबीच प्रेम र रोमान्सको अभिनयसमेत प्रस्तुत गरिएको छ। भिडियोमा फराज अर्पणको डीओपी र विशाल थापाको छायाङ्कन रहेको छ।
गायक राईको कन्सेप्ट, सम्पादन र निर्देशनमा भिडियो तयार पारिएको हो। भिडियो गायक राईको युट्युब च्यानल ‘ज्वाला राई’मार्फत सार्वजनिक भएको हो।
यसअघि गायक राईको स्वरमा ‘शीतल शीतल’, ‘दौरा भन्दा खल्ती लामो’, ‘तिमी फूल’ लगायत म्युजिक भिडियो सार्वजनिक भइसकेका छन्।












