मिप्वाः लाखे नाच : बाली बिगार्ने लाखेलाई फसाउने भ्यागुतो
मिप्वाः लाखेको जति प्रसिद्धि पाटन क्षेत्रमा छ, त्यस पछाडिको संघर्षको कथा भने बेग्लै छ। पाटनको प्रसिद्ध मिप्वाः लाखे नाच बिउँतिएको भर्खरै मात्र हो। यसअघि मिप्वाः लाखे नाच पाटनबाट हराइसकेको थियो।काठमाडाैं, साउन ८ : श्रावण कृष्ण त्रयोदशी अर्थात् ‘गथामुँगः चह्रे’, यसपालि १० साउनमा परेको छ। यस दिन विशेषतः नेवार समुदायमा राक्षसको आकृति बनाई दोबाटोमा लगेर जलाउने गरिन्छ। यसै दिन नेपाल मण्डल अन्तर्गतका बनेपा, दोलखा, नाला, धुलिखेल, पनौती, साँगा, देवपत्तन, पाटन, भक्तपुर, काठमाडौं लगायत विभिन्न स्थानबाट लाखे नाच पनि निस्कन्छन्।
साथै, उपत्यका बाहिर जहाँजहाँ नेवार समुदायको बसोबास छ, त्यहाँ लाखे नाच देखाउने प्रचलन छ। यद्यपि, केही समययता उक्त चलनमा कमी आउन थालेको छ। यस दिनबाट निस्कने लाखे नाच इन्द्रजात्राको अन्तिम दिनसम्म चल्ने गर्छ।
गथामुँगमा निस्कनेमध्येको एउटा लाखे नाच हो, पाटनको मिप्वाः लाखे नाच।
०७५ सालदेखि बिउँताइएको नाच
मिप्वाः लाखेको जति प्रसिद्धि पाटन क्षेत्रमा छ, त्यस पछाडिको संघर्षको कथा भने बेग्लै छ। पाटनको प्रसिद्ध मिप्वाः लाखे नाच बिउँतिएको भर्खरै मात्र हो। यसअघि मिप्वाः लाखे नाच पाटनबाट हराइसकेको थियो।
गत मंगलबार दिउँसो ५७ वर्षीय उत्तमरत्न शाक्य पाटन दरबार स्क्वायर क्षेत्रमा मिप्वाः लाखे नाचको प्रचारका लागि फ्लेक्स टाँस्दै थिए। पेसाले मूर्तिकार शाक्य ‘यल लायकु मिप्वा लाखे पुचः’ नामक समितिका संस्थापक तथा कार्तिक नाचका नाचगण समेत हुन्। उनै शाक्यले व्यक्तिगत पहलमा यस नाचलाई ०७५ सालदेखि बिउँताएका हुन्। जसमा नयाँ पिँढीको साथ उनलाई मिल्यो।
‘हुन त यो नाच धेरैअघिको होला, तर यसबारे यहाँ स्थानीयबाट पनि हामीलाई खासै जानकारी मिलेको छैन,’ उनी भन्छन्, ‘मैले यहाँका ज्येष्ठ नागरिकसँग धेरै भलाकुसारी गरेँ। कोहीबाट पनि स्पष्ट जानकारी आउन सकेन। सांस्कृतिक धरोहर शताब्दी पुरुष सत्यमोहन जोशीसँग पनि सोधखोज गरेको थिएँ, खासै खासै जानकारी आएन।’
सानोमा आफ्ना बुबाबाट सिकेको नाचकै आधारमा उनले आफ्ना समकालीन नाच गणको सहकार्यमा हाल नयाँ पुस्तालाई नाच सिकाइरहेका छन्। उनले यस नाचका लागि खास विधि तथा नियम राखेका छैनन्।
उनका अनुसार, जति धेरै नीतिनियम राख्यो, उति कठोरतापूर्वक पालना गर्नुपर्छ। नाच सिक्न थालेसँगै कुखुराको मासु र अन्डा भने वर्जित हुन्छ। नाचका क्रममा खुट्टा खाली खुट्टा हिँड्नुपर्ने बाहेक अन्य केही पनि नीतिनियम नराखेको उनी बताउँछन्।
मिप्वाः लाखे नाच पहिले शाक्य, नापित, कपाली गरी तीन थरीका जातले मात्र गर्न पाउने नियम रहेको उनी बताउँछन्। ढोकल र भुस्या बाजासहित नाचमा यी तीन थरीका जातले भाग लिने गरेको सम्झना उनलाई छ। हाल यस नियममा लचकता आएको छ र कुनै जात वा थरी नभई जसले पनि भाग लिन पाउने भएको उनी बताउँछन्।
किंवदन्ती
हाल यस नाचको प्रशिक्षण पाटन दरबार संग्रहालय परिसरमा भइरहेको छ। शाक्यले आफ्नो मोबाइलबाट गत वर्ष आफूले देखाएको नाचका तस्बिर देखाए।
तस्बिरमा लाखेको हुलिया थियो– रातो जामासँगै कम्मरमा घंघला, खुट्टामा कल्ली र दुई हातका औँलामा रुमाल। मिप्वाः लाखेसँगै हरियो जामा, हरियै मुकुण्डो लगाएका पात्र देखिए।
‘यो तिन्पाकुचा हो,’ उनले भने, ‘अर्थात् भ्यागुतो।’
लाखेसँग त प्रायः झ्यालिचा (लाखेजस्तै भेष धारण गर्ने सानो बच्चा) नाच्ने गर्छ। यहाँ कसरी भ्यागुतो ?
‘काठमाडौं लगायत अन्य क्षेत्रमा लाखेसँगै नाच्नेलाई झ्यालिचा भनिन्छ तर पाटनमा लाखे र तिन्पाकुचाको कथा जोडिएको छ,’ शाक्य भन्छन्, ‘हुन त लाखेका सम्बन्धमा धेरै किंवदन्ती प्रचलित छन्। जसमध्ये मलाई सबैभन्दा नजिक लाग्ने किंवदन्ती लाखे र तिन्पाकुचाको हो।’
उनका अनुसार, किंवदन्ती यस्तो छ : एकपटक रोपाइँको काम सकेर सबै किसान आराम गर्दै थिए। मिप्वाः लाखेलाई सायद केही कुरामा चित्त बुझेन, त्यसैले किसानका खेत–खेतमा गएर उसले धानबाली बिगार्न थाल्यो।
खेतमा बसिरहेको एउटा भ्यागुताले उक्त दृश्य देखिरहेको रहेछ। किसानले दुःख गरेर रोपेको बाली नबिगार्न भ्यागुताले लाखेसँग आग्रह ग¥यो। तब लाखेले रिसमा उल्टै भ्यागुतोलाई लखेट्न थाल्यो। उफ्रँदै गर्दा भ्यागुतो आफ्नो बुद्धिको प्रयोग गरी एउटा ठूलो खाल्डोमा हामफाल्यो। भ्यागुतालाई किच्छु भनी लाखे पनि सोही खाल्डोमा हामफाल्यो।
आफूमाथि लाखेले किच्नुअघि भ्यागुता त्यहाँबाट उफ्रिएर बाहिर निस्कियो। यसरी बाली नाश गर्न लागेको लाखे खाडलभित्र फस्यो। नष्ट हुन लागेको बाली भ्यागुताले जोगाइदिएको कथन अनुसार किसानले हरेक वर्ष जनै पूर्णिमाका दिन खेतमा गई भ्यागुतालाई भात, रोटी, गेडागुडी खुवाउने चलन सुरु भएको जनविश्वास चलिआएको शाक्य बताउँछन्।
यता, नेवार समुदायमा भ्यागुतोलाई साँच्चै खाना खुवाउने चलन पनि छ। बालीमा लाग्ने कीरा, फट्याङ्ग्रालाई भ्यागुताले खान्छ, त्यसैले यसलाई बालीको रक्षकका रूपमा पनि मानिन्छ। जनै पूर्णिमाको दिन रोटी, गेडागुडी, भात खान दिने प्रचलन छ।
नेपाल भाषामा ‘मि’को अर्थ ‘आगो’ र ‘प्वाः’को अर्थ ‘वाला’ हुन्छ। मिप्वाः लाखेको अर्थ ‘आगोवाला लाखे’ हुन जान्छ। यो नाचको सुरु हुँदा मिप्वाः लाखेले ठूलो आगोको मुस्ला निकाल्छ।
शाक्यका अनुसार, मिप्वाः लाखेको अर्को पनि किवंदन्ती छ। ‘राति आगो बालेर आफ्नी प्रेमिकालाई भेट्न आउने लाखेलाई मिप्वाः लाखे भनिएको कथन छ,’ उनी भन्छन्, ‘कतै तलेजु भवानीको रक्षकका रूपमा पनि लाखे उपत्यकामा बसेको चर्चा छ।’
तिन्पाकुचाको वस्त्र भ्यागुतोको शरीरको रंगजस्तै हरियो हुने उनी बताउँछन्। कथामा जस्तै नाचमा पनि तिन्पाकुचाले मिप्वाः लाखेलाई जिस्काउने गर्छ। ‘यस कारण मलाई यस किंवदन्तीमा बढी विश्वास छ,’ शाक्यले भने।
लाखेको नामाकरणकै विषयमा पनि अर्को रोचक किंवदन्ती चलिआएको छ। शाक्यका अनुसार, कुनै समयमा उपत्यकामा नेवार किसान खेतमा काम गर्न जाँदा काममा सघाउन एक युवक आउने गर्थे। कृषकले दिएको खाजा भने ती युवकले खाँदैनथे। उनले आफ्नो झोलाबाट ला अर्थात् ‘मासु’ र ‘खेंय’ अर्थात् ‘अण्डा’ निकालेर खाने गर्थे। यसरी मासु र अण्डा मात्र खाने भएकाले यसलाई लाखे भन्न थालिएको शाक्य बताउँछन्।
प्रदर्शन स्थान र समय
गथामुँगको दिन सुरु हुने यस नाच सौगल नात्येश्वर मन्दिर पसिर, सुन्धाराबाट सुरु भई ओकुबहाः, थैना, चक्रबहिः, हौगः, तच्छिुगल्ली, ईखालखु, बालुखा, पूर्णचण्डी, गाबहाः, पिम्बहाः, सुलिम, नकबहिः, धलायुचा, क्वाल्खु, झातापोल, कोबहाः, स्वंठ, मंगलबजाः, हःखा टोल हुँदै पुनः सौगः नात्येश्वर मन्दिर परिसरमा आएर सम्पन्न हुने गर्छ।
व्यक्तिगत पहलमा सुरु भएको नाचका लागि स्थानीय सरकारले केही रकम छुट्ट्याउने गरेको छ। नाचको अवधि नजिकिँदो छ तर हालसम्म बजेट पास नहुँदा आर्थिक समस्या देखिन थालेको उनी बताउँछन्। ‘हामीले नाच गरेबापत कुनै पारिश्रमिक पाएका छैनाँै। संस्कृति जोगाउनका लागि निस्वार्थ खटिएका छाँै।’