Kathmandu Press

यातायात विभाग : चार वर्षमा ६ महानिर्देशक, स्मार्ट लाइसेन्सको समस्या उस्तै

काठमाडौं मंसिर ४ : चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) छाप्नका लागि यातायात व्यवस्था विभागले अर्काे नयाँ ‘मासप्रिन्ट’ खरिद गर्ने तयारी....

यातायात विभाग : चार वर्षमा ६ महानिर्देशक, स्मार्ट लाइसेन्सको समस्या उस्तै
फाइल

काठमाडौं मंसिर ४ : चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) छाप्नका लागि यातायात व्यवस्था विभागले अर्काे नयाँ ‘मासप्रिन्ट’ खरिद गर्ने तयारी गरेको छ। 

भदौ महिनामा खरिद गरेको मासप्रिन्टले माग धान्न नसक्ने भएपछि अर्को नयाँ मेसिन खरिद गर्न प्रक्रिया थालिएको हो। १८ करोड खर्च गरेर ल्याएको नयाँ मासप्रिन्ट सञ्चालन नहुँदै विभागले फेरि ९ करोडमा अर्काे मेसिन ल्याउन लागेको हो।

विभाग स्रोतका अनुसार नयाँ ‘मासप्रिन्ट’ खरिदका लागि अन्तिम छलफल गरेर टेण्डर आह्वान गर्ने तयारी छ। सरकारले नयाँ ‘मासप्रिन्ट’ का लागि बजेट छुट्याएकाले खरिद गर्न लागिएको हो। विभागका महानिर्देशक गोगनबहादुर हमालले नयाँ ल्याइएको प्रिन्टको केही दिनअघि परीक्षण गरिएको र अब छिट्टै सञ्चालनमा आउने बताए।

‘परीक्षणका क्रममा प्रिन्ट गरिएका स्मार्ट लाइसेन्स राम्रो आएको छ। अब एक साताभित्रै पूर्ण क्षमतामा प्रिन्ट गर्छौं,’ हमालले भने।

नयाँ मेसिनले एक घण्टामा चार सय ५० वटा स्मार्ट लाइसेन्स प्रिन्ट गर्न सक्छ। अहिले भने पुरानै मेसिन सञ्चालनमा छन्। विभागसँग रहेका १० वटा मेसिन प्रयोग भइरहेका छन्। ति मेसिनले प्रतिघण्टा ४० वटा लाइसेन्स मात्रै प्रिन्ट गरिरहेका छन्।

सरकारले एसियाली विकास बैंक (एडिबी) को १५ करोड अमेरिकी डलर सहयोगमा यातायात क्षेत्र सुधार कार्ययोजना अन्तर्गत स्मार्ट लाइसेन्स सुरु गरेको थियो। 

तयारी बिना स्मार्ट लाइसेन्स दिँदा समस्या 

यातयात व्यवस्था विभागले २०७२ मंसिरमा स्मार्ट लाइसेन्स साविक यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र बागमतीबाट सुरु गरेको  थियो।

तत्कालीन अवस्थामा वागमती कार्यालयले नै समयमा स्मार्ट लाइसेन्स उपलब्ध गराउन सकेको थिएन। विभागले चौतर्फी माग धान्न नसक्ने भएपछि कर्णाली बाहेकका सबै कार्यालयबाट २०७४ साउनदेखि स्मार्ट लाइसेन्स उपलब्ध गराउने निर्णय गर्‍यो।

सरकारले केन्द्रमै प्रिन्ट गर्ने क्षमता नपुगेको समयमा अन्य कार्यालयबाट बाँड्ने निर्णय गर्दा समस्या झन् जटिल भएको विभागका एक अधिकारी बताउँछन्।

चार वर्षमा ६ महानिर्देशक परिवर्तन, समस्या उस्तै

कागजी चालक अनुमति पत्रलाई स्मार्ट लाइसेन्स बनाउने निर्णय गरेको चार वर्षको अवधिमा ६ जना विभागका महानिर्देशक फेरिसकेका छन्। जति महानिर्देशक फेरिएपनि सेवाग्राहीले १५ महिनादेखि लाइसेन्स पाउन सकेका छैनन्।

पहिलोपटक कागजी लाइसेन्स हटाएर स्मार्ट लाइसेन्स जारी गर्दा विभागमा महानिर्देशका रुपमा चन्द्रमान श्रेष्ठ थिए। उनी पछि ५ जना महानिर्देशक फेरिए पनि विभागको ढिलासुस्ती उस्तै छ। छैटौं महानिर्देशकका रुपमा आएका हमाल भने केही दिनमा नै मासप्रिन्टले पूर्ण क्षमतामा काम गर्ने दाबी गर्छन्।

 पुराना कम्प्युटरमा भएका डाटा नयाँमा राख्ने भन्दै विभागले मंसिर ३ देखि ११ मंसिरसम्म स्मार्ट लाइसेन्स छपाइ बन्द गरेको छ । विभागका अनुसार अहिलेसम्म ७ लाख चालक स्मार्ट लाइसेन्स छाप्न बाँकी छ।
 

प्रकाशित मिति: १९:१३ बजे, बुधबार, मंसिर ४, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्