Kathmandu Press

उपसभामुखद्वारा राजीनामा गरेर मन्त्री बन्न अस्वीकार

काठमाडौ, मंसिर ४ : सभामुखको दाबी गरिरहेकी उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले राजीनामा गरी मन्त्री पद लिन अस्वीकार गरेकी छिन्। नेकपालाई सभामुख पद....

उपसभामुखद्वारा राजीनामा गरेर मन्त्री बन्न अस्वीकार
फाइल फोटो

काठमाडौ, मंसिर ४ : सभामुखको दाबी गरिरहेकी उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले राजीनामा गरी मन्त्री पद लिन अस्वीकार गरेकी छिन्। नेकपालाई सभामुख पदका लागि बाटो खुला गर्न उनलाई उपसभामुखबाट छुटाएर मन्त्री बनाउने प्रयास असफल भएको नेकपा स्रोतको दाबी छ।

प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली अर्का अध्यक्ष पुष्पकमल दाहाल सहित मन्त्रिमण्डल हेरफेर गर्ने गृहकार्यका सिलसिलामा राष्ट्रपति कार्यालय, शितल निवास पुगेका छन् तर डा. तुम्बाहाङ्फे भने नियमित जस्तै सिंहदरबारस्थित सचिवालयमा गएकी छिन्। उनले यसअघिदेखि नै मन्त्रीका लागि उपसभामुख नछाड्ने बताउँदै आएकी छिन्। 

'म दिनभरि सि‌ंहदरबारमै बसेर काम गरिरहेकी छु । एकछिन कामले बाहिर गएकी  थिएँ', उनले भनिन्, 'प्रधानमन्त्रीज्यूसँग कुरा भएकाे छैन । मन्त्रिमण्डल पुनर्गठनबारे मलाई केही जानकारी छैन । म काम गरिरहेकी छु । मेराे राजीनामाकाे कुरै छैन ।'

मन्त्रिमण्डल हेरफेरबारे छलफल गरी नाम नाम बुझाउन अध्यक्षद्वय ओली र प्रचण्ड राष्ट्रपति कार्यालयमा रहेकाबेला प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले उपसभामुखको राजीनामा सचिवालयमा नआएको बताए।

राजीनामाबारे जिज्ञासा राख्दा योगीले भने, ‘उहाँ यहीँ हुनुहुन्छ। नियमित काम गरिरहनुभएको छ । मैले राजीनामा दिएको कुनै जानकारी पाएको छैन ।’ तुम्बाहाङ्फे केही बेर आफ्नो कार्यालयमा बसेर करिब पौने १ बजे बाहिर निस्केकी छिन्। 

सभामुख कृष्णबहादुर महरा यौन दुराचारको अभियोगमा परी पद त्याग्न बाध्य भएपछि उपसभामुख डा. तुम्बाहाङ्फे कार्यबाहक सभामुख भएकी छिन्। उनले सभामुख आफैँले पाउनुपर्ने अडान राख्दै आएकी छिन्।

प्रकाशित मिति: १३:०४ बजे, बुधबार, मंसिर ४, २०७६