Kathmandu Press

राष्ट्रपतिसँग नेकपा अध्यक्षद्वयको भेटवार्ता, मन्त्रिमण्डल पुनःगठनबारे छलफल

काठमाडौं, मंसिर ४ : नयाँ मन्त्रीको नाम टुङ्गो लगाएपछि नेकपा अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रप....

राष्ट्रपतिसँग नेकपा अध्यक्षद्वयको भेटवार्ता, मन्त्रिमण्डल पुनःगठनबारे छलफल
फाइल फोटो

काठमाडौं, मंसिर ४ : नयाँ मन्त्रीको नाम टुङ्गो लगाएपछि नेकपा अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन्।

नेकपा अध्यक्षद्वय ओली र प्रचण्ड बालुवाटारबाट सिँधै राष्ट्रपति निवास शितल निवास पुगेका हुन्। ओली र प्रचण्ड राष्ट्रपतिलाई भेट्न शितल निवास गएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए।

राष्ट्रपतिसँग ओली र प्रचण्डले मन्त्रिमण्डल पुनःगठनका विषयमा छलफल गरेका छन्। दुवै अध्यक्ष टुङ्गो लगाएका नयाँ मन्त्रीका नामबारे राष्ट्रपतिलाई पनि जानकारी दिएको स्रोतले जनाएको छ।

यस अघि दुवै अध्यक्षबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको थियो। करिब डेढ घण्टा भएको छलफलमा नयाँ बन्ने मन्त्रीको नाम टुङ्गो लगाएको जनाएको छ।

आजै मध्याह्न साढे १२ बजे नेकपा सचिवालय बैठक बोलाइएको छ। सचिवालय बैठकमा पनि मन्त्रिमण्डल पुनःगठनबारे छलफल हुने जनाएको छ।

अध्यक्षद्वयले टुङ्गो लगाएका नयाँ मन्त्रीको नामबारे पनि छलफल हुनेछ। सचिवालय बैठकपछि आजै नयाँ मन्त्रीले सपथ ग्रहण गर्न सक्ने जनाएको छ।

प्रकाशित मिति: १२:१९ बजे, बुधबार, मंसिर ४, २०७६