Kathmandu Press

सांस्कृतिक धरोहर श्रीगोपालको निर्देशनमा ८० वर्षपछि बिउँताइँदै महाकाली नाच

यो नाच ८० वर्षअघि मध्यपुर ठिमीमा हरेक वर्ष विधिपूर्वक प्रस्तुत गरिन्थ्यो। यो नाच सिकेर उतिबेला नाचेका व्यक्ति हुन्, श्रीगोपाल। अहिले यस नाचलाई पुनः जगाउन मध्यपुर ठिमी लागिपरेको छ। 
सांस्कृतिक धरोहर श्रीगोपालको निर्देशनमा ८० वर्षपछि बिउँताइँदै महाकाली नाच

पात्र: महाकाली नाचका प्रशिक्षक र प्रशिक्षार्थीहरू। 
स्थान: नवरत्न विद्यालयको हल, मध्यपुर ठिमी, भक्तपुर। 
समय: साँझको ७ बजे।
मितिः असार १९ गते। 

नवरत्न विद्यालयको हलमा स्थानीय १६ बालक तथा किशोर उपस्थित थिए, सातदेखि १८ वर्षसम्मका यी किशोरलाई महाकाली प्याँख (नाच) सिकाइँदै थियो। प्रशिक्षक थिए– ३० वर्षीय समिर शंखदेव प्रजापति। 

नसां द्यः (नाचका देवता) को पूजासँगै प्रशिक्षण सुरु भयो। दुई घन्टाजति चल्ने प्रशिक्षणलाई हलको एक छेउमा बसेर स्थानीय ९६ वर्षीय श्रीगोपाल प्रजापतिले नियालिरहेका थिए। प्रशिक्षार्थीबाट केही गल्ती भइहाले समिर शंखदेवलाई बोलाएर सम्झाउँथे। यो नाच ८० वर्षअघि मध्यपुर ठिमीमा हरेक वर्ष विधिपूर्वक प्रस्तुत गरिन्थ्यो। यो नाच सिकेर उतिबेला नाचेका व्यक्ति हुन्, श्रीगोपाल। अहिले यस नाचलाई पुनः जगाउन मध्यपुर ठिमी लागिपरेको छ। 

Hardik ivf

श्रीगोपालको योगदान

श्रीगोपाललाई मध्यपुर ठिमी नगरपालिकाले जीवित सांस्कृतिक धरोहर घोषणा गरिसकेको छ। उनकै अभिभावकत्व अहिले महाकाली नाचको प्रशिक्षण भइरहेको छ। भक्तपुरमा परम्परागत रुपमा चल्दै आएको यो नाच आजभन्दा ८० वर्षअघि रोकिएको थियो। श्रीगोपालले यो नाच पाँच वर्ष उमेरमा सिकेर नाच्दै र सिकाउँदै आएका हुन्। 

‘मलाई यो नाच गुरु कुबेर सिंहले सिकाउनुभएको हो। उतिबेला हामी दिगु टोलदेखि बालकुमारी डबलीसम्म नाच्थ्यौँ। गाईजात्राको भोलिपल्टदेखि चार दिनसम्म नाच चल्थ्यो,’ श्रीगोपालले भने। उनले राम्रोसँग कान सुन्दैनन् र नेपाली पनि त्यति बोल्दैनन्। यस नाच सम्बन्धमा हामीले सोधेका प्रश्नलाई उनका जेठा छोरा गणेशमान र प्रशिक्षक समिर शंखदेवले नेपाल भाषामा उल्था गरी उनको कानैमा गई सुनाएका थिए। उनले नेवार भाषामा दिएको जवाफलाई गणेशमान र समिर शंखदेवले हामीलाई सुनाउँथे। 

यो नाचको जर्गेना गर्न श्रीगोपाल बेलाबेला नखटिएका होइनन्। २०४६ सालमा उनले ‘संस्कृति ठिमी कला परिषद्’ स्थापना गरेका थिए। यही परिषदमार्फत पछि २०६०–२०६५ सालसम्म समिर शंखदेव र केही युवाले श्रीगोपालबाट यो नाच सिके र प्रहसन समेत गरेका थिए। 
समिर शंखदेवका अनुसार, सामाजिक र आर्थिक कारणले गर्दा यो नाच बन्द हुन पुगेको हो। यो नाच वर्षाका बेला पर्छ, यतिबेला कामको चटारो हुने गर्छ।

खेती गरेर खाने भएकाले यहाँका मानिसले नाचलाई निरन्तरता दिन सकेनन्। तर, श्रीगोपालमा यस नाचप्रति विशेष लगाव थियो र छ। उनैले समिर शंखदेवलाई यो नाच सिकाए। अहिले समिर शंखदेव अरुलाई सिकाउने भएका छन्। ‘मैले सात वर्षको उमेरदेखि यो नाच सिकेको हुँ। पहिले ठिमीमा नाचिने नाचमध्ये यो सबैभन्दा लोकप्रिय थियो रे,’ समिर शंखदेव भन्छन्, ‘यो वर्षबाट मैले यहाँका युवालाई सिकाउन थालेको छु। यस नाच पुनः विधिपूर्वक सुरु गर्नका लागि नगरपालिका र दिगु टोलका विभिन्न व्यक्ति तथा संस्थाले सहयोग गरेका छन्।’

के हो महाकाली नाच ? 

यस नाचको मुख्य पात्र महाकाली हुन्। यस नाचमा १६ जनाको समूह हुन्छ। समिर शंखदेवका अनुसार, नृत्य समूहले महाकालीसँगै महादेवी, महालक्ष्मी, एक दैत्य, चार बेताल, दुई भूतभैरव, दुई कंकाल, एक सिंह, दुई ख्याक, एक माक (बाँदर)को रूप धारण गरी नृत्य प्रस्तुत गर्छन्। महाकाली भएर नृत्य गर्नेले रातो वस्त्र, महादेवी र महालक्ष्मीले पहेँलो वस्त्र लगाउने विधि छ। नृत्य गणका पोसाक, ताल लगायत विधि परम्परागत नै छन्। ‘गुरु श्रीगोपालले भने बमोजिम हामीले यस नाचमा बाजा, ताल, नाचको मुद्रा, पहिरन परम्परागत राखेका छौँ,’ समिर शंखदेवले भने। 

समिर शंखदेवका अनुसार, यो रातमा नाचिने नाच हो। यस नाचमा २२ ताल हुन्छन्। साँझको साढे ४ बजेतिर सुरु भएको नाच रातको साढे २ बजेतिर सकिन्छ। यस नाचमा झ्याली, भुस्या, मृदङ, ताँहा, मुहाली लगायत १० बाजा प्रयोग हुन्छन्। नाचजस्तै बाजा बजाउनका लागि पनि प्रशिक्षण दिइएको छ। ‘नाचमा तालको निकै महत्व छ,’ उनी भन्छन्, ‘वाद्यवादकले बजाउने तालबाटै नाच निर्देशित हुन्छ। धुन अनुसार नाचको मुद्रा परिवर्तन हुने गर्छ। कहिलेकाहीँ ताल बिग्रँदा नृत्य गणमा क्रोध पैदा हुन सक्छ र वादकलाई उनीहरूले अप्ठेरोमा पार्न सक्छन्।’ 

एउटा ताल सिक्न करिब एक हप्ता लाग्ने उनी बताउँछन्। अहिले नाचप्रतिको उत्साह यस्तो छ कि दिनको तीनवटा ताल प्रशिक्षार्थीले सिकिरहेका छन्। यस नाचका लागि मुहाली बजाउने मानिस टोलमै निकै कम भएको समिर शंखदेव बताउँछन्। त्यसैले बाजा बजाउनलाई महँगो ज्याला तिर्नुपर्छ। ‘मुहाली बजाउनेलाई मात्रै चार दिनको एक लाख ६० हजार रुपैयाँ दिनुपर्छ,’ समिर शंखदेव भन्छन्, ‘जब कि हाल स्थानीय सरकारले महाकाली नाचकै लागि भनेर एक लाख रकम छुट्ट्याएको छ।’ 

श्रीगोपालका अनुसार पहिले यो नाच हेर्नेको भीड लाग्ने गथ्र्यो। ‘राति अबेरसम्म मानिसहरू फल्चा, सत्तलमा बसिरहेका हुन्थे। महाकाली, भैरवलाई हेर्ने व्यग्र पर्खाइ दर्शकलाई हुन्थ्यो,’ श्रीगोपाल भन्छन्, ‘अहिलेजस्तो नाचघर, थिएटर र विज्ञान प्रविधिको विकासले नभएको कारण पनि होला मानिसका लागि मनोरञ्जन त्यही नै थियो।’

जनविश्वास र कथा

यस सम्बन्धमा कुनै किंवदन्ती वा इतिहास छ कि? ‘यो नाच राजा सुवर्ण मल्लको पालादेखि सुरु भएको हामीले अग्रजबाट सुन्दै आएका हौँ,’ समिर शंखदेव भन्छन्, ‘देवी पुराणको युद्ध कौशलताको कथामा यो नाच आधारित छ। हामीलाई गुरुहरूले भन्नुभए अनुसार, देवी र दानवबीच भएको युद्धमा देवीले प्राप्त गरेको विजयलाई प्रहसनका रूपमा नाचमा देखाइने हो।’ 

उनका अनुसार लुतो लागेका, पेट दुख्ने समस्या भएका बच्चालाई नाच देखाउँदा रोग निको हुने जनविश्वास छ। ‘नाचका बेला बन्न नसकेको काम बनोस् भनी भाकल गरे सिद्ध हुने जनश्रुति पनि प्रचलित छ,’ उनले भने।


 

प्रकाशित मिति: १८:१० बजे, आइतबार, साउन १, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्