एकै परिवारका तीन सदस्यद्वारा लिखित चार कृति विमोचन
काठमाडाैं, असार ३२ : एकै परिवारका तीन सदस्य साहित्यकार मोतीशोभा श्रेष्ठ, प्रा.डा. सृजना श्रेष्ठ र प्रा.डा. सविना श्रेष्ठ बिजुक्छेद्वारा लिखित नेपाल भाषाका चार...
काठमाडाैं, असार ३२ : एकै परिवारका तीन सदस्य साहित्यकार मोतीशोभा श्रेष्ठ, प्रा.डा. सृजना श्रेष्ठ र प्रा.डा. सविना श्रेष्ठ बिजुक्छेद्वारा लिखित नेपाल भाषाका चार पुस्तक विमोचन गरिएको छ।
नेपाल भाषा फाउन्डेशनले आज यहाँ आयोजना गरेको कार्यक्रममा आमा मोतिशोभाका ‘नेपालमा घरेलु उद्योगको विकास’, ‘प्रकृति, सम्झनाको डायरी, सत्य र आमा, आँसु’ लघु उपन्यास सङ्ग्रह, छोरी प्राडा सृजनाका ‘प्रश्नचिह्नदेखि पूर्णविरामसम्म र बादललाई के थाहा रु’ कविता सङ्ग्रह तथा अर्की छोरी प्रा.डा. सविनाको ‘जिन्दगी एक प्रश्नचिह्न र मनको स्पर्श’ कविता सङ्ग्रह विमोचन गरिएको हो।
उक्त चारवटै कृतिको विमोचन गर्दै नेपाल भाषा एकेडेमीका कुलपति यज्ञरत्न धाख्वाले नेपाल भाषाको विकास र विस्तारमा उक्त कृतिले सहयोग पुग्ने विश्वास व्यक्त गरे। 'एकै परिवारका तीन सदस्यले एकैपटक नेपाल भाषामा चार पुस्तक प्रकाशनमा ल्याउनु गर्वको कुरा हो, नेपाल भाषा साहित्यको यो कलम निरन्तर अगाडि बढ्दै जाओस्,' उनले भने।
पूर्वअर्थमन्त्री एवम् साहित्यकार शङ्करप्रसाद कोइरालाले अनुवाद साहित्यलाई अगाडि बढाउन नसक्दा नेपाली साहित्य अन्तर्राष्ट्रिय स्तरसम्म फैलिन नसकेको बताए। उनले मोतिशोभाले यसअघि नेपाली भाषामा लेखेका कृतिलाई अनुवाद गरी नेपाल भाषामा ल्याएको जनाउँदै उक्त अनुवादले नेपालभाषा बुझ्ने र जान्नेका लागि सहयोग पुगेको उल्लेख गरे।
साहित्यकार एवम् पूर्वप्रशासक मोतीशोभाले कोरोनाको समयको सदुपयोग गरेर आफूले लघु उपन्यास लेखेर नेपाल भाषामा अनुवाद गरेको बताइन्। साहित्यकारद्वय सृजना र सविनाले आफूले विद्यार्थीकालमा कोरेको सिर्जनालाई अहिले नेपाल भाषामा पस्केको बताइन्।
मोतिशोभाका लघु उपन्यासमा नेपाली समाजमा महिलाको जीवनसँग गाँसिएका केही महत्वपूर्ण पक्षलाई सरल भाषामा दर्शाइएको छ। उनी नेपाल सरकारको अवकाश प्राप्त सहसचिवसमेत हुन्।
कवियित्री सृजनाका कवितामा मान्छे, मन र मानव जीवनका भावनात्मक यात्रा र त्यसभित्रका आरोह अवरोहलाई प्रष्ट्याउने कोसिस गरिएको पाइन्छ। उनी हाल पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बालरोग विशेषज्ञ तथा प्राध्यापकका रुपमा रहेकी छन्।
कवियित्री सविनाका कवितामा प्रकृति, सौन्दर्य, जीवन र समयका विभिन्न अध्यायलाई प्रष्ट्याइएको छ। यस्तै मनका जिज्ञासा, कौतुहलता र प्रश्न लगायतका माया, प्रेम र समाजका अन्य परिवेशलाई कवितामा समेटिएको छ। उनी हाल काठमाडौँ मेडिकल कलेजमा बाल आँखा रोग विशेषज्ञ तथा प्राध्यापकका रुपमा रहेकी छन्। उक्त पुस्तक यसअघि नेपाली भाषामा प्रकाशित भइसकेका छन्।
नेपाल भाषा फाउन्डेशनका अध्यक्ष मङ्गलमान शाक्यले नेपाल भाषा फाउन्डेशनले विसं २०६७ सालदेखि नेपाल भाषाको विकास र विस्तारमा काम गर्दै आइरहेको जानकारी दिए।












