इमर्जिङ कपः बंगलादेशसँग ८ विकेटले हार्यो नेपाल
काठमाडौं, मंसिर २ : एसिसी इमर्जिङ टिम्स एशिया कप क्रिकेटमा नेपाल घरेलु टोली बंगलादेशसँग पराजित भएको छ।
सोमबार ढाकास्थित साभार क्रिकेट म....

काठमाडौं, मंसिर २ : एसिसी इमर्जिङ टिम्स एशिया कप क्रिकेटमा नेपाल घरेलु टोली बंगलादेशसँग पराजित भएको छ।
सोमबार ढाकास्थित साभार क्रिकेट मैदानमा भएको खेलमा नेपाल बङ्गलादेशसँग आठ विकेटले पराजित भएको हो। नेपालले दिएको १३९ रनको लक्ष्यलाई बङ्गलादेशले २४ ओभरमा दुई विकेट गुमाएर भेट्टाएको थियो।
बङ्गलादेशको जितमा नजमोल हुसेनले सर्वाधिक ५९, मोहमद्द नाइमले ४५, यसिर अलीले १८ तथा सोम्य सरकारले ११ रनको योगदान दिए।
बलिङतर्फ नेपालका सोमपाल कामी र सुसन भारीले समान एक-एक विकेट लिए।
त्यसअघि टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको नेपालले ४४ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै १३८ रनमा बनाएको थियो।
नेपालका लागि सोमपाल कामीले सर्वाधिक ३८ रनको योगदान दिए। त्यस्तै, ज्ञानेन्द्र मल्लले २२, करण केसीले १८, कुशल भुर्तेलले १०, करण केसीले १८, आरिफ शेखले ११, पवन सरार्फले ९, विनोद भण्डारीले ८, उपकप्तान दीपेन्द्र सिंह एरीले ६ र शरद भेष्वाकरले एक रन जोडेका थिए।
बङ्गलादेशका लागि सैयद मिन्हाजुल आबेदिन र सुमन खानले समान ३–३ विकेट लिँदा तनवीर सिंह र मेहदी हसनको नाममा दुई–दुई विकेट रह्यो।
जितसँगै बङ्गलादेश समूह ‘बी’ को विजेता बन्दै सेमिफाइनलमा पुगेको छ भने नेपालको सेमिफाइनलमा पुग्ने सम्भावना भने न्यून बनेको छ।
यसअघि बिहीबार भएको पहिलो खेलमा नेपाल भारतसँग सात विकेटले पराजित भएको थियो। दोस्रो खेलमा भने नेपालले हङकङलाई ४० रनले पराजित गरेको थियो।











