‘एक वर्गले भानुभक्तलाई देवता मानिरहेछन्, एक वर्गले ढुंगा हानिरहेछन्’
अरु लेखकजस्तै सत्ता र शक्तिको भजन गाउने खालका लेखकका रूपमा उनलाई चिनिन्छ। त्यतिखेरको समाजभन्दा माथि उठ्न नसकेको मान्छे भने उनी होइनन्।आज असार २९, अर्थात् भानुजयन्ती। आदिकवि भानुभक्त आचार्यको जन्म २९ असार १८७१ मा तनँहुको चुँदी रम्घामा भएको थियो। भानुभक्तले विशेषतः संस्कृत भाषाको रामायणलाई नेपाली भाषामा अनुवाद गरेका थिए। योसँगै प्रश्नोत्तर, भक्तमाला, वधुशिक्षा लगायत उनका कृति प्रकाशित छन्।
उनको अनुवाद रामायण हिन्दू नेपाली भाषीमाझ लोकप्रिय छ। पछिल्लो समय भानुभक्तका कृतिमा आउने समयचेतलाई विवाद हुने गर्छ। यसै सन्दर्भमा काठमाडौं प्रेसकर्मी प्रबिता श्रेष्ठले केही स्रष्टालाई सोधेकी थिइन् :
भानुभक्तलाई हामीले किन सम्झनुपर्छ ?
उनको योगदान सम्झनुपर्दा ?
भानुभक्तका सम्बन्धमा सरकारले के गर्नुपर्छ ?
प्रस्तुत छ, यिनै प्रश्नमा आएका उत्तरहरुको सम्पादित अंश :
‘नारीका सन्दर्भमा पनि उनी खासै चेतनशील देखिँदैनन्’
आदिकवि भानुभक्त आचार्यलाई तत्कालीन समयको भाषागत चेतना भएका र भाषिक क्षमता देखाउने स्रष्टाका रूपमा हामी चिन्छौँ। आध्यात्मिक चेतनासहित सरल नेपाली भाषा र लयमा रामायणलाई अनुवाद गर्नु उनको सबैभन्दा ठूलो योगदान हो। नेपाली समाजको तत्कालीन आध्यात्मिक चेतनाकेन्द्रित भएर उनले सिर्जना कर्म गरे। भाषिक र कलात्मक पक्षबाट उनी सम्मानित छन्।
यद्यपि, उनको समकालीन सन्तज्ञान दिलदास लगायतका लेखकसरह उनी चेतनशील अलि नभएको हो कि भन्ने मलाई लाग्छ। नारीका सन्दर्भमा पनि उनी चेतनशील देखिँदैनन्। अरु लेखकजस्तै सत्ता र शक्तिको भजन गाउने खालका लेखकका रूपमा उनलाई चिनिन्छ। त्यतिखेरको समाजभन्दा माथि उठ्न नसकेको मान्छे भने उनी होइनन्।
उनले पाएको आदिकवि पदवी सम्बन्धमा विवाद पहिलेदेखि चलिआएको छ। उनीअघि नै १०–१२ जना कवि थिए। राणाकालीन समयमा लालमोहरसहित आदिकविको पदवी उनले पाए। केही जमातले उनलाई आदि कविभन्दा पनि प्राथमिक कालका केन्द्रीय र प्रतिनिधि कविका रूपमा मान्छन्। एक खालले स्थापित भएको मान्यतालाई प्रश्न गरिरहनुभन्दा पनि उनको कवित्वको शक्तिलाई सम्मान गर्नुपर्ने मेरो धारणा छ।
राज्यले भानुभक्तलाई स्थान दिएकै मान्छु। उनको जन्मजयन्तीलाई भानुजयन्ती मनाउने प्रभातफेरी भएकै छ। पाठ्यक्रममा पनि स्थान दिइएकै छ। पहिचानको मुद्दालाई लिएर अहिले बेलाबेला उनको आलोचना भएको हुन सक्छ। कारण, जातीयताका हिसाबले समाज विभेदी थियो र छ पनि। अहिले आएर आफ्नो स्थान र वर्चस्वका लागि उनको विरोध गरिएको हुन सक्छ।
यद्यपी, उनले अनुवाद गरेको रामायण अझैपनि जनजातिहरुको घरमा राख्ने/पढ्ने गरेको पाएकी छु। उनीप्रति रचनात्मक आलोचनामा आपत्ति जनाउनु नराम्रो होइन। अग्रजलाई सम्मान गर्दै हामी अघि बढ्नुपर्छ।
‘एक सम्माननीय स्रष्टा’
आदिकवि भानुभक्त आचार्यलाई सांस्कृतिक धरोहरका रूपमा लिइन्छ। समकालीनतामा अडिएर भानुभक्तलाई हे¥याैँ भने उनले आफ्नो स्थान बनाएका छन्। भाषिक एकीकरणमा उनले गरेको योगदान देशकै लागि महत्वपूर्ण छ। नत्र समाज खण्डित हुन सक्छ।
जातीय सन्दर्भ आउँदा एउटा तहमा उनको गलत व्याख्या भइरहेको छ। एक वर्ग भानुभक्तलाई देवता मान्छन् भने एक वर्ग ढुंगाले हानिरहेका छन्। अहिलेको छरिएको चेतनाको आ–आफ्नै विचार र व्याख्या होला। त्यसको थप विमर्श पनि आउँदो समयले बताउला। तर, समकालीनतामा अडिएर भानुभक्तलाई देवत्वकरण वा दानवीकरण नगरी एक सम्माननीय स्रष्टाका रूपमा उनलाई स्थान दिइनुपर्छ।
हामीले जातीय उत्थानका लागि उनी कसरी बोले भन्ने पनि बुझ्नुपर्छ। भानुभक्त मात्र नभई विद्यापति पनि ओझेलमा परेका छन्। उनी आदिकवि नभई प्रतिनिधि कवि हुन् भन्ने जमात उत्तिकै छ। विद्वान्का बीचमा यस विषयमा गन्थनमन्थन भइरहेकै हुन्।
उनलाई कुनै बाहुनवादको नजरभन्दा पनि भाषिक एकीकरण गर्ने सक्षम व्यक्तिका रूपमा ग्रहण गर्नुपर्छ। उनले जुन लयमा भाषिक सामान्यीकरण गरी भाषालाई आममानिसको जीवनमा प्रवेश गराए, त्यो कुराले हाम्रो समाजलाई परिष्कृत हुन, चिन्तन गर्न सहज गराएको छ।
उनलाई आलोचना गर्नका लागि उनको समकालीन समाजको मूल्य–मान्यता, शिक्षा र चेतनाको स्थिति हेर्नुपर्ने मलाई लाग्छ। उनको योगदान व्यक्ति र समुदायभन्दा पनि समग्र देशका लागि रह्यो। हामी जातीय मुद्दामा बढी फस्याैँ कि भन्ने मलाई लाग्छ।
वि.सं. १८७१ समाजमा जन्मेका भानुभक्तले कति गर्न सके भन्ने विषयमा राम्रो समीक्षा गर्न जरुरी छ। आज भानुजयन्ती मनाउँदै गर्दा आदिकवि भानुभक्तलाई राज्यले के गर्नुपर्छ भन्ने सवाल खासै महत्वपूर्ण नहोला, कारण उनको जन्मजयन्ती मनाउनेदेखि पाठ्यक्रममा पनि उनकाबारे लेखिएका छन्। उनीसँगै अन्य साहित्यका स्रष्टाको पनि उत्तिकै सम्मान हुनुपर्ने मेरो भनाइ छ।