नेवार समुदायमा गुरुपूजा
नेवार समाजमा गुरुपूजा गर्ने पनि आफ्नै खाले मौलिक परम्परा छ । दिल्लाथ्व पूर्णिमा अर्थात् आषाढ शुक्ल पूर्णिमालाई गुरुपूर्णिमा भनिन्छ । यसै दिन गुरुलाई आदर सत्कारपूर्वक पूजा गरिन्छ । गुरु नभई ज्ञान पूरा हुँदैन ।काठमाडौं, असार २९ : आमाको मुख हेर्ने, बाबुको मुख हेर्ने, शरीरको पूजा गर्ने म्हपूजा, दाजु वा भाइको पूजा गरिने भाइटीका, इहि (बेल विवाह) नगरेका बालिकाहरूको कुमारी पूजा गरिएजस्तै आफूलाई शिक्षादिक्षा प्रदान गर्ने व्यक्तिलाई गरिने पूजा ‘गुरु पूजा’ हो।
नेवार समाजमा गुरुपूजा गर्ने पनि आफ्नै खाले मौलिक परम्परा छ। दिल्लाथ्व पूर्णिमा अर्थात् आषाढ शुक्ल पूर्णिमालाई गुरुपूर्णिमा भनिन्छ। यसै दिन गुरुलाई आदर सत्कारपूर्वक पूजा गरिन्छ। गुरु नभई ज्ञान पूरा हुँदैन। गुरुबिनाको ज्ञान र बाबुबिनाको बालक बराबर हुन्। अर्थात् यी दुवै अपुरा हुन्छन्।
पहिलेपहिले नेवार समाजमा बज्राचार्य, द्यःभाजु, आचाजु, ब्राह्मण आदिले गुरुको कार्य गर्दथे। यिनीहरूलाई अहिले पनि पुरोहित काम गर्ने भएकाले गुरु वा गुरुजु भनी सम्बोधन गर्ने चलन छ। नेवार समाजमा गुरुको स्थान सबैभन्दा उच्च हुन्छ। कुनै पनि ठूलो पूजा गुरुजुहरूद्वारा नै सम्पन्न गराउने चलन छ। अंशबन्डा गर्न, चुलो छुट्ट्याउन, छुट्टिएर बस्न, देउता सार्न वा परम्परा अनुसार गरिँदै आएका रीतिथितिमा कुनै परिवर्तन गर्नुपरे गुरुको वचनलाई शिरोपर गर्ने चलन छ। श्राद्ध गर्दा राजमाता, राजपिता, गुरुमाता, गुरुपिता भनी गुरुको नाममा पिण्डदान गर्ने चलन छ। बौद्ध र हिन्दू धर्मावलम्बी दुवैले गुरुलाई आदर सत्कारपूर्वक सम्मान गर्ने परम्परा रहँदै आएको छ। जस्तो : ‘गुरु बुद्ध गुरु धर्म गुरु संघ तथावचन। गुरु वज्र घरश्रीमान तस्माइभी गुरुभ्य नः।।’ बौद्धहरू यसरी जुनसुकै पूजा गर्दा पनि महामञ्जुश्री गुरुको आराधना र नमस्कार गरेर मात्रै पूजा सुरु गर्छन् भने हिन्दूहरू गुरु ब्रह्मा, गुरु विष्णु, गुरुदेव महेश्वर, गुरु साक्षात भनी सम्बोधन गर्छन्। त्यसैले गुरु र विद्यार्थीबीच विवाह गर्नु हुँदैन भन्ने धारणा छ।
नेपाली समाजमा मात्र होइन, पाश्चात्य समाजमा पनि गुरु र आफैँले पढाएका विद्यार्थीबीच वैवाहिक सम्बन्ध राखिँदैन। यसको अर्थ यस्तो परिस्थितिमा नारी र पुरुषबीच आकर्षण हुनु हुँदैन भन्ने हो। गुरुप्रति द्रोह गरे ज्ञान ह्रास हुन्छ भन्ने विश्वास गरिन्छ। अक्षर ज्ञान गराउने मात्र होइन, कुनै पनि ज्ञान दिनेलाई गुरु भनिन्छ। जस्तो : माटोको भाँडा बनाउन सिकाउने, पूजा गर्न सिकाउने, बुट्टा काढ्न सिकाउने, कपडा बुन्न सिकाउने सबै गुरु नै हुन्।
पहिलेपहिले एउटै गुरुले धेरै किसिमका ज्ञान दिने गर्दथे। त्यस बेला सिकाउनेहरू सबैलाई गुरुकै दर्जा दिने चलन थियो। तर अहिले कुनै पनि कुरा सिकाउने व्यक्तिलाई गुरु भनी सम्मान गर्ने चलन हराइसकेको छ। पहिलेपहिले गुरुले दिने ज्ञान सबै मौखिक नै हुने गर्दथे। त्यति बेला ज्ञानका कुराहरू लेखिएका पुस्तक हुँदैनथे। त्यसैले गुरुको शक्तिलाई दैवी शक्तिकै रूपमा ग्रहण गरिन्थ्यो। गुरुलाई महामञ्जुश्री वा सरस्वतीको प्रतीकका रूपमा लिइन्थ्यो। त्यस्ता ज्ञानीलाई मान्न गुरुपूर्णिमाको विशेष दिन तोकिएको हुन्थ्यो। त्यसबेला विद्यार्थीलाई शिक्षा प्रदान गर्न आफू अनुशासनमा बस्ने, व्यक्तिगत स्वार्थ नराख्ने वा त्याग गरी शिक्षा प्रदान गर्ने गर्दथे। गुरुहरू सामान्य जीवनयापन गर्दथे। अतः विद्यार्थीले पनि आफ्नो निमित्त त्याग तपस्या गरी पुरुषार्थ गर्नेलाई सम्मान गर्नु स्वाभाविकै भयो। त्यस बेलादेखि सुरु भएको गुरु पूजाको यो परम्परा अद्यापि चलिरहेको छ। विद्यालय वा व्यक्तिगत रूपमा अध्यापन गर्ने गुरुहरूलाई गुरुपूर्णिमाको दिन माता सरस्वतीको सँगसँगै भक्तिभावपूर्वक पूजा गर्ने चलन छ। त्यस्तै, व्यक्तिगत रूपले पठनपाठन गर्ने विद्यार्थीले पनि गुरुपूजाका दिन घरघरमै गएर गुरुलाई विभिन्न खाद्य परिकारहरू खुवाउने प्रचलन छ।
बौद्ध ग्रन्थहरूका अनुसार, दिल्ला पूर्णिमाका दिन सिद्धार्थ गौतम बुद्धले मानव जन्म लिनका लागि मायादेवीको गर्भ प्रवेश गर्नुभएको थियो। त्यही दिन सिद्धार्थ गौतम बुद्धत्व प्राप्त गर्न दरबार त्याग गरी महाभिनिष्क्रमणमा निस्कनुभएको थियो। उहाँहरुलाई एहिभिक्खुका रूपमा ओवाद वाक्यद्वारा उपसम्पदा प्रदान गरी उहाँ आफैँले गुरुको स्थान ग्रहण गर्नुभएकाले यो पूर्णिमाको विशेष महत्व छ। उहाँले धर्मचक्र प्रवर्तन सूत्रको उपदेश प्रदान गर्नुभएको भनेकै चार आर्यसत्य तथा आठ आर्यअष्टांगिक बाटाहरूसँगै प्रतित्य समुत्पाद सिद्धान्तबारे धर्माेपदेश गर्नुभएको हो। यसरी गुरु पूर्णिमाको दिनलाई नेवार समाजमा विभिन्न तरिकाले मनाउने गरिन्छ। यो त्यति ठूलो चाड नभए पनि सानोतिनो पर्व भने अवश्य हो।