जसले दुईपटक क्यान्सर जिते, उपचारसँगै सकारात्मक सोच र ध्यान–योगले
‘यसका लागि मैले मन बलियो र सकारात्मक बनाउने पुस्तक नै बढी पढेँ,’ गिरी भन्छन्, ‘मैले सिनेमा हेर्न छाडिदिएँ, कारण फिल्ममा इमोसनल सिन हुन्छ, जसले दिमागलाई दुःखी बनाउन सक्छ।’काठमाडौं, असार २७ : ‘रिपोर्टले मेरो टाउकोमा बिस्तारै हान्दै डा. किरण राईले भन्नुभयो– अफकोर्स, इट्स अ ट्रिटेबल डिजिज अर्थात् निस्सन्देह, यो उपचार सम्भव भएको रोग हो,’ दुईपटक क्यान्सरलाई जितेका ३१ वर्षीय दीपक गिरी सम्झन्छन्, ‘उहाँको त्यति बोलीले मेरो कमजोर मनलाई राहत मिल्यो।’
गत सोमबार काठमाडौंको शंखमूलस्थित उजामा क्याफेमा भेट्दा उनी ऊर्जावान् देखिन्थे। अकासे रङको सर्ट, कालो जिन्स पाइन्ट र जुत्तामा ठाँटिएका दीपक कुनै समय क्यान्सर पीडित हुन् भन्ने विश्वास गर्न गाह्रो लाग्छ। केमोथेरापीका कारण झरेका शिरका कपालले पनि बिस्तारै ठाउँ लिँदै थिए।
२६ फेब्रुअरी २०१९, दीपक हातमा रिपोर्ट अनि बेचैन मनसहित नर्भिक अस्पतालको एक वार्डमा डा. राईलाई पर्खिरहेका थिए। त्यसको केही महिना अघिदेखि उनलाई खकारमा रगत देखिन थालेको थियो। सुरुमा उनले काठमाडौंको मेडिकल कलेजमा जाँच गरे, रिपोर्ट सामान्य आयो। बारम्बार रगत देखिन थालेपछि उनी काठमाडौंकै मेडिकेयरमा जचाउन पुगे। पुनः रिपोर्ट सामान्य आयो। त्यसपछि उनको घाँटीको पछिल्लो भागमा सानो मासुको डल्लोजस्तो देखियो, जसलाई ‘लिम्फ नोड्स’ भनिने रहेछ। उनी पुनः मेडिकेयर गए, त्यसपछि भने रिपोर्टले क्यान्सरको सम्भावना देखाएको थियो। रिपोर्टसँगै डाक्टरका कुराले उनी त्रसित भएका थिए।
नर्भिक अस्पतालमा भएको चेकजाँचपछि थाहा भयो– उनलाई नाकको क्यान्सर भएको रहेछ, त्यो पनि तेस्रो स्टेजमा पुगिसकेको। नाकमा विकसित ट्युमर फैलिएर घाँटीसम्म पुगिसकेको थियो। चौथो स्टेजमा पुगेपछि ट्युमर शरीरभरि नै फैलने रहेछ।
‘म परिवारको एक्लो छोरो। त्यो बेला मलाई आफ्नोभन्दा पनि मेरी आमाको चिन्ता लागिरहेको थियो,’ गिरी भन्छन्, ‘नर्भिकमा आमा पनि मसँगै हुनुहुन्थ्यो। मलाई क्यान्सर भएको कुरा उहाँले पचाउन सक्नुहोला ! मलाई यही डर थियो। डा. किरणले मेरी आमालाई पनि सम्झाउनुभएछ। उपचार अवधिभर मेरी आमा अनि मेरो परिवार दह्रो खम्बा भए, जसमा म आडभरोसा राख्न सक्थेँ।’
उपचारका लागि उनलाई नर्भिकबाट नेपाल क्यान्सर अस्पताल, हात्तीसारमा रिफर गरियो। जहाँ उनको उपचार डा. सुदीप श्रेष्ठले गरे।
आत्मबल
क्यान्सर भन्नेबित्तिकै हामी डराउँछौँ– उपचार सम्भव छ होला र ? अर्कोतिर, यसको उपचार अति महँगो हुने ठान्छौँ। दीपकको मनमा पनि अनेक तर्कना आउँथे। तर, उनीसँग मन बलियो पार्नुको विकल्प थिएन।
भनिन्छ, पुस्तकले मानिसलाई ज्ञानसँगै उज्यालो बाटो देखाउँछ। पुस्तक अध्ययनमा रुचि राख्ने उनले ‘प्लेसिबो इफेक्ट’बारे कतै पढेका थिए। त्यसपछि उनले आत्मबल बढाउने पुस्तक खोज्न थाले। ‘इन्टरनेटमा खोज्दा मैले जोसेफ मर्फीको पुस्तक पाएँ– द पावर अफ योर सबकन्सियस माइन्ड। पुस्तक अर्डर गरेको केही घन्टामै हात प¥यो र पढेँ,’ खर्बुजाको जुस खाँदै उनले भने, स्वास्थ्यप्रति अति नै सावधान रहने उनले क्याफेमा जुस अर्डर गरेका थिए। ‘उक्त पुस्तकका लेखक जोसेफ मर्फी आफैँ पनि छालासम्बन्धी क्यान्सरका रोगी थिए। उनले पनि सकारात्मक सोचबाटै आफूलाई निको पारेका थिए, यस कुराले मलाई अझ प्रेरणा मिल्यो।’
नाकको अपरेसन गर्न नमिल्ने हुँदा उनको उपचार केमोथेरापी र रेडियसनका माध्यमबाट हुँदै थियो। करिब ६ राउन्डको केमाेथेरापी र ३५ राउन्डकाे रेडियाेथेरापी सात सातासम्म चल्यो। केमोथेरापी सहज हुँदैन। यसले बिरामीलाई निकै पीडा दिन्छ। दीपकको हकमा भने ठ्याक्कै उल्टो भयो। ‘मेरो केमो शुक्रबार हुन्थ्यो। केमो राखेको दिन शुक्रबार र शनिबार मलाई आफ्नो शरीरमा ऊर्जा आएको महसुुस हुन्थ्यो,’ अनौठो अनुभव साट्दै उनले भने, ‘अरुलाई केमो राख्दा पोल्ने, गलाउने र कमजोर पार्छ भन्थे, मलाई भने जिउ नै हल्का महसुस हुन्थ्यो। मेरो सकारात्मक सोचकै कारण यस्तो भएको हुनुपर्छ, डाक्टरहरु पनि यही भन्थे। केमो गरेको तेस्रो दिनदेखि भने मलाई छटपटी सुरु हुन्थ्यो। बुधबार र बिहीबार फेन्ट नै हुन्छु कि भन्ने लाग्थ्यो। केमो गर्ने दिन कहिले आउला भन्ने पर्खाइ हुन्थ्यो।’
औषधि उपचार एकातर्फ चलिरहेकै थियो, अर्कोतर्फ उनी आत्मबल बढाउन र आत्मसुझावमार्फत रोग निको गराउन केन्द्रित रहे। ‘यसका लागि मैले मन बलियो र सकारात्मक बनाउने पुस्तक नै बढी पढेँ,’ गिरी भन्छन्, ‘मैले सिनेमा हेर्न छाडिदिएँ, कारण फिल्ममा इमोसनल सिन हुन्छ, जसले दिमागलाई दुःखी बनाउन सक्छ।’
रेडियसन र केमोथेरापीबाट तीन महिनामै उनको नाक र घाँटीमा फैलिएको ट्युमर क्लिअर भयो। ‘निको हुनुमा आफूभित्रको सकारात्मक सोचलाई नै श्रेय दिन्छु,’ उनले भने।
एक किसिमले निको भइसकेपछि उनलाई अन्तिम चरणको केमो दिइयो। निको भइसकेपछि पनि शरीरको कुनै भागमा सरेको छ कि भनेर यो केमो दिइँदो रहेछ। यसपालिको केमोले आफूलाई निकै पीडा भएको उनी बताउँछन्। ‘मेरो शरीरको हिस्साहिस्सा पोल्थे। बरु मर्न दिएको भए हुने भन्ने पनि सोच पलाउँथ्यो। केमो हाल्दा तड्पिएर उकुसमुकुस हुन्थे। मेरो उपचारअवधि भरको सबैभन्दा जटिल र प्रडातनापूर्ण समय नै यही थियो,’ उनले भने।
सानै उमेरमा संघर्ष र प्रगति
काठमाडौं बौद्धस्थित अरुणिमा उमाविबाट ०६३ मा एसएलसी गरेका दीपकले कलेजदेखि स्नातकसम्मको अध्ययन पूर्ण छात्रवृत्तिमै पढे। पुल्चोक इन्जिनियरिङ कलेजबाट ०७० मा स्नातक गरेपछि उनले युएईको आबुधाबीस्थित प्रतिष्ठित कम्पनी ‘एडियार्ड आबुधाबी एलएलसी’मा जागिर पाए।
स्नातक पढिरहँदा उनको कलेजमा उक्त कम्पनीका प्रतिनिधि सक्षम जनशक्ति खोज्न आएका थिए। उनीहरुले कलेजबाट तीनजनालाई कन्स्ट्रकसन इन्जिनियरका रूपमा लैजाने भए, जसमा दीपक पनि थिए। ‘करिब ८० जनाले दिएको आवेदनमा हामी तीनजना छानियौँ,’ दीपक भन्छन्, ‘स्नातक पास हुनुअघि नै जब पक्का भयो। सन् २०१४ मा म आबुधाबीका लागि उडेँ।’
आबुधाबीमा उनी ६ वर्ष बसेर नेपाल फर्के। यतिन्जेल उनले राम्रै कमाइ गरेका थिए। आबुधाबीमा हुँदै उनको खकारमा रगत देखिन थालेको थियो। सन् २०१९ मा बिदामा नेपाल आउँदा उनले चेकजाँच गराएका थिए।
उपचार थालेको त्यस्तै ६ महिनामा उनी पूर्ण रूपमा निको भए। सोही समय कोराना विश्वव्यापी फैलिसकेको थियो। राम्रो कमाइ भइरहेको जागिर छुटे पनि उनलाई खासै फरक परेको थिएन। तर कम्पनीबाट पुनः अफर आयो, प्रमोसनसहित।
कोरानाकै बीच २०२० को सेप्टेम्बरमा उनी पुनः आबुधाबीका लागि उडे। त्यहाँ करिब आठ महिना बसे। ‘त्यहाँ मैले महिनाको पाँच लाख बराबरको रकम कमाइरहेको थिए। बरु ५० हजार कमाउँछु तर नेपालमै फर्कन्छु भन्ने सोच आयो’, उनी भन्छन्, ‘यो सोच यति बलियो भयो कि मैले ८ महिनापछि जागिर छाडेर आएँ।’
छातीको क्यान्सर र योग
२०२१ को जुलाईमा नेपाल फर्केपछि फलोअपका लागि उनी अस्पताल गएका थिए, संकेत राम्रो आएन, यसपालि छातीको क्यान्सर देखियो। उनको छातीभित्र ट्युमर फैलिएको रहेछ। जुलाईको अन्त्यतिर क्यान्सरकै पुष्टि भयो। ‘डायग्नोसिसअघि डर लागिरहेको थियो, नभन्दै पुनः उस्तै रिपोर्टले थकित अनि विचलित थिएँ,’ दीपक भन्छन्, ‘त्यसपछि उही केमोथेरापी, उही दैनिकी दोहोरियो।’
उपचारकै क्रममा एक दिन मोबाइल चलाइरहँदा उनले स्वामी विवेकानन्दको एक भिडियो देखे। जुन भिडियोमा जोय डिस्पेन्जा नामका एक लेखकले उपचार नहुने भनिएको मेरूदण्डकाे राेगलाई ध्यान र सकारात्मक सोचबाट निको पारेको प्रसंग छ। त्यसपछि दीपक योग र ध्यानतर्फ मोडिए। ‘ध्यानयोगले मलाई निकै मद्दत ग¥यो। योगध्यानबाटै मैले महसुस गरेँ कि सकारात्मक सोच्नु भनेको नकारात्मक विचारलाई दिमागमा आउनै नदिनु होइन रहेछ,’ दीपक भन्छन्, ‘दिमागमा आउने नकारात्मक सोचलाई स्वीकार र महसुस गरी सकारात्मकतामा भरोसा राख्नुपर्ने रहेछ।’
अगस्टमा केमो सुरु भएको थियो, सन् २०२२ को जनवरीसम्म उनी पूर्ण स्वस्थ भए। ‘क्यान्सर मेरो शरीरबाट सदाका लागि अलग्गियो, तर योग–ध्यानलाई आफूबाट अलग गराएको छैन,’ उनले भने। अहिले उनी कुनै नयाँ व्यवसाय सुरु गर्ने मनस्थितिमा छन्।