हलिउड स्टार जेम्स कानको ८२ वर्षको उमेरमा निधन

काठमाडाैं, असार २४ : हलिउड स्टार जेम्स कानको ८२ वर्षको उमेरमा निधन भएको छ।
फिल्म ‘द गडफादर’, ‘मिजरी’, ‘एल्फ’बाट विश्वभरि चर्चा कमाएका कानको जुलाई ६ मा निधन भएको परिवारले सामाजिक सञ्जालमार्फत जानकारी दिएको छ।
ट्विटरमा पोस्ट सेयर गर्दै कानको परिवारले लेखेको छ, ‘हामी दुःखका साथ जानकरी दिन चाहन्छौं कि जुलाई ६ मा कानको निधन भएको छ।’ उनको के कारणले मृत्यु भयो भन्ने खुलाइएको छैन।
कानको पूरा नाम जेम्स एडमन्ड कान हो । सन् १९६३ मा ‘इर्मा ला डोस’ बाट फिल्मी अभिनय यात्रा थालेका उनले थुप्रै फिल्ममा अभिनय गरेका छन्।
उनका अन्य यादगार चलचित्रहरूमा हावर्ड हक्स वेस्टर्न ‘एल डोराडो’, जेम्स टोब्याकको ‘द जुम्बलर’ र ‘ए ब्रिज टु फार’ (१९७७), रिचर्ड एटेनबरोको दोस्रो विश्वयुद्धको महाकाव्य रहेका छन्।
उनले चार गोल्डेन ग्लोब, एक एमी र एक ओस्करसहित अन्य धेरै पुरस्कार प्राप्त गरेका छन्। चारजनासँग विवाह गरेका उनका पाँच सन्तान छन्।












