Kathmandu Press

स्वदेश फर्किए बंगलादेशका राष्ट्रपति हमिद

काठमाडौं, कात्तिक २९ : बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद स्वदेश प्रस्थान गरेका छन्।  

चार दिने नेपाल भ्रमणमा आएका राष्ट्र....

स्वदेश फर्किए बंगलादेशका राष्ट्रपति हमिद

काठमाडौं, कात्तिक २९ : बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद स्वदेश प्रस्थान गरेका छन्।  

चार दिने नेपाल भ्रमणमा आएका राष्ट्रपति हमिदलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा राष्ट्रपति विद्यादेवी भण्डारीले बिदाइ गरेकी थिइन्। उनको  बिदाइका लागि गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई लगायत पनि विमानस्थल पुगेका थिए। राष्ट्रपति हमिदलाई नेपाली सेनाको एक टुकडीले २१ तोपको सलामी दिएको थियो।

नेपाल भ्रमणका क्रममा उनले समकक्षी राष्ट्रपति भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल  ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग शिष्टाचार भेटपार्ता गरेका थिए।

नेपाल बसाइका क्रममा बङ्गलादेशका राष्ट्रपति हमिदले भक्तपुर दरबार स्क्वायर क्षेत्र र पोखराका पर्यटकीय क्षेत्रको स्थलगत अवलोकन भ्रमण गरेका थिए।
 

प्रकाशित मिति: १७:२४ बजे, शुक्रबार, कात्तिक २९, २०७६