Kathmandu Press

‘आईएम भेरी ह्याप्पी, दिस इज नाइस प्लेस’

काठमाडौं, कात्तिक २९ : ‘यहाँ आउन पाउँदा म धेरै खुशी छु। असाध्यै राम्रो ठाँउ रहेछ,’ रुपाकोट रिसोर्टमा पुगेपछि बङ्गलादेशका राष्ट्रपति मोहम्म....

‘आईएम भेरी ह्याप्पी, दिस इज नाइस प्लेस’
रासस

काठमाडौं, कात्तिक २९ : ‘यहाँ आउन पाउँदा म धेरै खुशी छु। असाध्यै राम्रो ठाँउ रहेछ,’ रुपाकोट रिसोर्टमा पुगेपछि बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको पहिलो प्रतिक्रिया हो यो।

सामान्य अवस्थामा पोखराबाट ४५ मिनेटको उकालो चढेपछि पुगिने रुपाकोटको अतिथि बनेर बङ्गलादेशी राष्ट्रपति र उनको प्रतिनिधिमण्डल पुगेको हो। रुपा र बेगनास तालको ठ्याक्कै माथिपट्टिको हरियो डाँडामा रहेको रुपाकोट रिसोर्टबाट हिमशृङ्खला देखिन्छन्। आठ हजार मिटरभन्दा अग्ला तीन वटा हिमाललाई आँखै अगाडि देख्न पाउँदा जो कोही मन पुलकित हुन्छन्।

हिमश्रृंखला देखेपछि बङ्गलादेशी राष्ट्रपति हमिदले पनि आफ्ना प्रतिनिधिमण्डलका सदस्य र रिसोर्टका सञ्चालकका बीचमा  भने, ‘आईएम भेरी ह्याप्पी, दिस इज भेरी नाइस प्लेस।’

भिआइपीको भ्रमण हुँदैछ भन्ने खबर थाहा पाएपछि रुपाकोट रिसोर्टका संचालक पुष्पराज अधिकारी असाध्यै खुशी थिए। त्यसो त बङ्गलादेशका व्यवसायी, कलाकार, बैंक तथा वित्तीय संस्थाका प्रमुख र यहाँस्थित बङ्गलादेशी दूतावासका अधिकारी पटकपटक रुपाकोट रिसोर्ट पुगेका थिए। राष्ट्रपति नै आउने खबर अधिकारीले दश दिन पहिले थाहा पाएका थिए।

राष्ट्रपति हमिदलाई नै भनेर रिसोर्टले स्थानीय माछाको विशेष परिकार बनाएको थियो। त्यसका लागि रिसोर्टले बङ्गलादेशी दूतावाससँग पनि छलफल गरेको थियो।

‘रिसोर्ट भित्रैको करेसाबारीमा उत्पादन हुने साग असाध्यै मीठो मानेर खानुभयो,’ रिसोर्टका सञ्चालक अधिकारीले भने, ‘हामीले विशेष प्रकारको बिरयानी बनाएका थियौं। त्यसलाई समेत राष्ट्रपतिले खुशी हुँदै लिनुभयो।’

डेढ घण्टा रिसोर्टमा रहँदा राष्ट्रपतिले मन्त्रमुग्ध भएर हिमश्रृखलाको दृश्यावलोकन गरेका थिए।

बेल्जियममा रेस्टुराँ व्यवसाय गर्दै आएका अधिकारीले स्वदेश फर्किएर दुई सय रोपनी जग्गामा रिसोर्ट स्थापना गरेका हुन्।

स्थानीय गुरुङ समुदायको शैलीसँग मिल्ने गरी ढुङ्गाले छापेको बाटोमा कागती, मेवा, आँपलगायतका फलफूलका बिरुवा छन्। बाटाकोे छेउमा फुलेका रङ्गीचङ्गी फूलले बंगालदेशका राष्ट्रपति हमिदलाई पनि मोहित बनायो।

राष्ट्रपतिको स्वागतमा रुपा गाँउपालिकाले कुनै कन्जुस्याइँ गरेको थिएन। नेपाली पञ्चचेबाजा बजाइएको थियो। बाटोघाटो सफा गरिएको थियो भने स्वागतद्वार बनाएर नेपाल बङ्गलादेशमैत्री सम्बन्ध अमर रहोस् भन्ने नारासमेत लेखिएको थियो।

रुपाकोटमा राष्ट्रपति हमिदलाई गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार तथा विकासमन्त्री रामशरण बस्नेत, आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमान, रुपा गाउँपालिकाका प्रमुख नवराज ओझा, उपप्रमुख लालसुब्बा गुरुङ, जनप्रतिनिधि तथा सरकारी कर्मचारीलगायतले स्वागत गरेका थिए। (रासस)

प्रकाशित मिति: १०:०६ बजे, शुक्रबार, कात्तिक २९, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्