चीनले भन्यो- हामीले सीमा मिचेका छैनौं, कालापानीको विवाद नेपाल र भारत बसेर सुल्झाउन्
काठमाडौं, कात्तिक २८ : नेपाल र भारतबीच कालापानी क्षेत्रको सीमा विवाद चर्किरहेका बेला चीनले आफूले सीमा नमिचेको स्पष्ट पारेको छ।
काठमाडौं, कात्तिक २८ : नेपाल र भारतबीच कालापानी क्षेत्रको सीमा विवाद चर्किरहेका बेला चीनले आफूले सीमा नमिचेको स्पष्ट पारेको छ।
बिहीबार पत्रकारहरुसँग कुराकानी गर्दै काठमाडौंस्थित चिनियाँ दूतावासका प्रवक्ता वाङ सिओयोलोङले चीनले नेपाली भूमि अतिक्रमण नगरेको स्पष्ट पारेका हुन्। उनले कालापानी क्षेत्रका विषयमा भइरहेको विवाद समाधान नेपाल र भारत बसेर टुंग्याउनु पर्ने बताए।
प्रवक्ता सिओयोलोङले सीमा विवाद नेपाल र भारतले मित्रवत् परामर्श र वार्ताका माध्यमबाट टुंग्याउनेमा चीन विश्वस्त रहेको बताए। उनले चीनले सधै नेपालको सम्प्रभुता र भौगोलिक अखण्डताको सम्मान गर्ने बताए।
‘केही गैरजिम्मेवार व्यक्ति र मिडियाले चीनले नेपालको सीमा मिच्यो भनेकोे सुनेका छौं। यी आरोपहरु आधारहीन र असत्य हुन्,’ उनले भने।
प्रवक्ता सिओयोलोङले नेपाल र चीनबीच सन् १९६१ मा सीमा सन्धीमा हस्ताक्षर भएको र सोही सन्धीका आधारमा सीमा तय भएको बताए। सम्झौतापछि नेपाल र चीन दुवै पक्षले सीमा र सुख्खा बन्दरगाहजस्ता मुद्दा राम्रो सहकार्य गरिरहेको उनले बताए।
उनले गत अक्टोबरमा भएको राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा पनि दुबै पक्षले सीमा व्यवस्थापन प्रणालीमा हस्ताक्षर गरेको स्मरण गरे।
उनले नेपाल–चीन सम्बन्धमा फाटो ल्याउने कुनै पनि प्रयास सफल नहुने बताए।
यसअघि संसदको राज्यव्यवस्था समितिको बैठकमा कांग्रेसका सांसदहरु अमरेशकुमार सिंह र देवेन्द्रराज कँडेलले चीनले पनि सीमा मिचेको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराएका थिए।






