लिपुलेकका विषयमा भारत र चीनबीच भएको सहमतिबारे नेपाल बोल्नु पर्छः पौडेल
झापा, कात्तिक २८ : नेपाली कांग्रेसको वरिष्ठ नेता रामचन्द्र पौडेलले चीनको बेइजिङमा लिपुलेकमा अन्तर्राष्ट्रिय व्यापार मार्ग खोल्ने भारत र चीनका प्र....
झापा, कात्तिक २८ : नेपाली कांग्रेसको वरिष्ठ नेता रामचन्द्र पौडेलले चीनको बेइजिङमा लिपुलेकमा अन्तर्राष्ट्रिय व्यापार मार्ग खोल्ने भारत र चीनका प्रधानमन्त्रीबीच भएको सहमतिबारे नेपालले बोल्नुपर्ने बताएका छन्।
कांग्रेस झापाले आयोजना गरेको अगुवा कार्यकर्तालाई बिहीबार सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले लिपुलेक त्रिदेशीय सीमानामा पर्ने नेपाली भूमी भएकाले नेपालको समेत सहभागितामा सहमति हुनु पर्ने बताए।
‘लिपुलेकमा अन्तर्राष्ट्रिय व्यापार मार्ग खोल्ने विषयमा नेपालको समेत सहभागिता हुनुपर्ने हो। तर नेपाललाई बाहिर राखेको विषयमा पनि कुरा गर्नुपर्छ,’ उनले भने।
पौडेलले दुई तिहाइको सरकार अनि प्रतिपक्षीको साथ भएका बेला सरकारले कूटनीतिक पहल गरेर सीमा विवाद समाधान गर्न नसके कम्युनिष्टहरुले राष्ट्रवादको नारा लगाउन छोड्नुपर्ने बताए। उनले सीमा विवादको अन्त्य गर्ने विषयले प्रधानमन्त्री केपी ओलीको गफ र काम के हो भन्ने छुटिने बताए।
पौडेलले सरकारले जनताका आवश्यकता के हुन् भन्ने विषयलाई छुट्याउन नसकेको बताए।
‘सरकारले जनताका आवश्यकता खुट्याउन सकेन। जनतालाई खानेपानी चाहिएको छ। प्रधानमन्त्री पानी जहाजको कुरा गर्नुहुन्छ। जनतालाई सडक चाहिएको छ। तर सरकार रेल ल्याउने कुरा गर्छ,’ पौडेलले भने।






