युवा पत्रकार शर्माको निधन
काठमाडौं, कात्तिक २८ : पत्रकार डिलप्रसाद शर्माकाे २३ वर्षको उमेरमा निधन भएको छ। पत्रकार शर्माको बिहीबार काठमाडौंको नयाँ बानेश्वरस्थित ....

काठमाडौं, कात्तिक २८ : पत्रकार डिलप्रसाद शर्माकाे २३ वर्षको उमेरमा निधन भएको छ। पत्रकार शर्माको बिहीबार काठमाडौंको नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा उपचारका क्रममा निधन भएको हो।
पत्रकार शर्मा लामो समयदेखि बोनम्यारोमा गम्भीर समस्याका कारण बिरामी थिए। नेपाल पत्रकार महासंघ सुर्खेत शाखाका सदस्य समेत रहेका शर्माको बोनम्यारो ट्रान्सप्लान्टका क्रममा निधन अस्पतालले जनाएको छ।
विगत ६ वर्षदेखि सुर्खेतमा रहेर पत्रकारिता गरिरहेका शर्मा पछिल्लो समय साझा विसौनी दैनिक र देश सञ्चार अनलाइनमा कार्यरत थिए।
यसैबीच, पत्रकार शर्माको निधनप्रति नेपाल पत्रकार महासंघले दु:ख व्यक्त गरेको छ। महासंघका महासचिव रमेश विष्टले विज्ञप्ति जारी गरी स्वर्गीय शर्माप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै मृतआत्माको चिरशान्तिको कामना गरेका छन्।
‘यो दुःखद् घडीमा महासंघ शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामनासहित गहिरो समवेदना व्यक्त गर्दछ,’ विष्टद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।











