नेपालमा चार प्रतिशत मानिसमा मधुमेह
काठमाडाैं, कात्तिक २८ : आज संसारभर मधुमेह दिवस मनाइँदै छ। नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी विश्व मधुमेह दिवस मनाउन लागिएको छ।
मधुम....
काठमाडाैं, कात्तिक २८ : आज संसारभर मधुमेह दिवस मनाइँदै छ। नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी विश्व मधुमेह दिवस मनाउन लागिएको छ।
मधुमेहलाई चिनीरोग पनि भन्ने गरिन्छ। शरीरमा चिनीको मात्रा बढी भयो भने यो रोग लाग्ने गरेको चिकित्सकहरू बताउँछन्।
नेपालमा वर्षेनी मधुमेहका बिरामी बढ्दै गएको पाइएको छ। मधुमेहका बिरामीको संख्या यकिन नभएपनि नेपालमा चार प्रतिशत मानिसमा मधुमेह रोग रहेको अन्तर्राष्ट्रिय डाइबिटिज फेडेरेसनले जनाएको छ।
मधुमेह दिवसका अवसरमा अल्का अस्पतालले निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ। काठमाडौं डाइबेटिज एन्ड थाइराइड सेन्टर र अस्पतालको संयुक्त आयोजनामा शिविर सञ्चालन भइरहेको अस्पतालले जनाएको छ।
शिविरमा र्यान्डम ब्लड सुगर, एचबिएवान सी, सातदेखि १० दिनसम्मका लागि निःशुल्क औषधि वितरण गरिने डा.अंशुमाली जोशीले बताए।
उनका अनुसार, मधुमेह लागेको थाहा पाउन केही कुरामा ध्यान दिनुपर्छ। जस्तो, खाना रुचे पनि तौल घटदै जाने, पिसाब सामान्यभन्दा धेरै पटक लाग्ने, मुख सुख्खा हुने, प्यास धेरै लाग्ने हुन थाल्यो भने चिकित्सकसँग सल्लाह लिनुपर्छ।
त्यस्तै, भोक बढी लाग्ने तर दुब्लाउदै जाने, कमजोरी हुने र खुट्टा झम्झमाउने, खुट्टा पोल्ने, पिसाबमा कमिला देखिने र घाउ छिटो निको नहुने पनि मधुमेहका लक्षण हुन्।
मधुमेहबाट सजिलै बच्न पनि सकिन्छ। वर्षमा एक पटक मधुमेहको जाँच गराउने,
मधुमेह विरामीले खानपान र जीवनशैलीमा गर्नुपर्ने सुधार गर्ने, सामान्य खानपान अपनाउने, क्यालोरी भएको चिज अर्थात भात, मैदा, आलु, गुलियो चिल्लो फ्याट बढी हुने चिजको कम सेवन गर्ने, नियमित ब्यायम गर्ने र दिनमा कम्तिमा आधा घन्टा हिड्ने गरेमा मधुमेहबाट बच्न सकिन्छ।






