Kathmandu Press

४८ पदमा २८१ उम्मेदवारी, आज नामावली प्रकाशन गरिँदै

काठमाडौं, कात्तिक २८ : मंसिर १४ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता भएको छ। देशभरका ४८ पदका लागि हुने उपनिर्वाचनमा दुई सय ८१ जनाक....

४८ पदमा २८१ उम्मेदवारी, आज नामावली प्रकाशन गरिँदै

काठमाडौं, कात्तिक २८ : मंसिर १४ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता भएको छ। देशभरका ४८ पदका लागि हुने उपनिर्वाचनमा दुई सय ८१ जनाको उम्मेदवारी परेको छ।

निर्वाचन आयोगका अनुसार, ३५ जिल्लाका ४४ स्थानीय तहमा विभिन्न ४८ पदका लागि उम्मेदवारको मनोनयनपत्र दर्ता गरिएको छ।  

स्थानीय तहमा उपमहानगरपालिकाको प्रमुख–१, गाउँपालिकाका अध्यक्ष–३, गाउँपालिकाका उपाध्यक्ष–१ र गाउँपालिका तथा नगरपालिकाका वडाध्यक्ष–४३ रिक्त पदका उपनिर्वाचन हुँदै छ।

उम्मेदवार दिनेमध्ये राजनीतिक दलका २१७ र स्वतन्त्र उम्मेदवार ६४ जना रहेको आयोगले जनाएको छ। मनोनयपत्र दर्ता गर्ने महिला उम्मेदवारको संख्या २६ रहेको छ।

निर्वाचन अधिकृतकाे कार्यालयले आज उम्मेदवारकाे नामावली प्रकाशन गर्ने भएकाे छ।

स्थानीय तहको सबैभन्दा चर्चित सुनसरीको धरान उपमहानगरपालिका हो। जहाँ मेयर निर्वाचन हुँदै छ।

मेयरका लागि नेकपा र नेपाली कांग्रेससहितका विभिन्न दलले आ–आफ्नो उम्मेदवारी दर्ता गराएका हुन्।

धरान उपमहानगरपालिकाको प्रमुख पदका लागि नेकपाका तर्फबाट प्रकाश राई र कांग्रेसका तर्फबाट तिलक राईले उम्मेदवारी दर्ता गराएको निर्वाचन आयोगले जनाएको छ।

त्यसैगरी प्रमुख पदकै लागि चार स्वतन्त्र र साना दलले उम्मेदवारी दर्ता गराएका छन्।

राष्ट्रिय जनमुक्ति पार्टीबाट गोकर्ण राई, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट अमर इजम, राप्रपा संयुक्तबाट कुमार बराइली र साझा पार्टीबाट राजनकुमार श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन्।

यसैगरी अमृत राई, मनराज राई, जनार्दन कोइराला र हर्क साम्पाङले स्वतन्त्र रुपबाट उम्मेदवारी दर्ता गराएका छन्।

प्रकाशित मिति: १२:०९ बजे, बिहीबार, कात्तिक २८, २०७६