पाकिस्तानका पूर्वप्रधानमन्त्री सरिफलाई विदेश जान अनुमति
कराची, कात्तिक २८ : पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफलाई उपचारका लागि विदेश जान पाकिस्तानी सरकारले बुधबार अनुमति दिने निर्णय गरेको छ।

कराची, कात्तिक २८ : पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफलाई उपचारका लागि विदेश जान पाकिस्तानी सरकारले बुधबार अनुमति दिने निर्णय गरेको छ।
पाकिस्तानी सञ्चारमाध्यमका अनुसार, उनको स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर उपचारका लागि विदेश जान अनुमति दिने निर्णय गरिएको एक मन्त्रीले जानकारी दिएका छन्।
पाकिस्तानको तीन पटक प्रधानमन्त्री भएका सरिफ भ्रष्टाचारसम्बन्धी मुद्दामा दोषी ठहरिँदै जेल सजाय भोगिरहेका छन्।
कारागारमै रहेका बेला गम्भीर बिरामी भएको विवरण सार्वजनिक भएपछि पाकिस्तानको एक अदालतले केही दिन अगाडि उनलाई कारागारबाट बाहिर निकालेर अस्पताल लगेर उपचार गराउन आदेश दिएको थियो।
अदालतको आदेशपछि उनलाई केही दिन अस्पतालमा राखेर उपचार गराइएको थियो भने त्यसपछि आईसीयू र चिकित्सकहरूको टोली उनकै निवासमा व्यवस्था गरिएको थियो।
स्वदेशमा गरिएको उपचार पर्याप्त नभएको ठहर गरेर उनलाई थप उपचारका लागि लण्डन लैजाने तयारी भइरहेका बेला सरकारले अनुमति दिएको हो।
उनलाई उपचारका लागि विदेश बस्न चार हप्ताको समय तोकिएको एक मन्त्रीले पत्रकारहरूलाई जानकारी दिएका छन्।











